प्रदीप र अभिलाषालाई टेनिस उपाधि

समाधान संवाददाता २०७९ पुष १७ गते १४:१६

पोखरा ।
१९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् ।

Advertisement

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार भएको प्रतियोगिताको ओपन सिंगल्स मेन्स तर्फको उपाधि प्रदीप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् ।

मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदीपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदीपले पहिलो सेट ६–३ ले जित्दै प्रनभमाथि दबाब बनाउने प्रयास गरेका थिए ।

तर दोस्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदीपलाई चुनौती दिए । सिंगल्सका उपाधि विजेता प्रदीप डबल्सतर्फको उपाधि विजेतासमेत हुन् । नेहालजंग बहादुर थापा र प्रदीपको जोडीले डबल्सतर्फ उपाधि जितेको छ ।

अन्तिम सेटमा प्रदीपले ७–५ ले खेल जित्दै उपाधिसहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदीप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेतासमेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद ४० हजार प्राप्त गरे ।

Advertisement

सेमीफाइनालिस्ट दुई रितिक राना र अकी जुवेन रावतले जनही नगद १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसेले जनाए । वमेन्सतर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाषा विष्टले उपाधिसहित नगद ८० हजारका साथमा ट्रफी हात पारेकी छन् ।

फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिस्ट सुनिरा थापा र प्रकृति श्रेष्ठले जनही नगद १० हजार पाए ।

शनिबार नै सम्पन्न ३५ वर्षमाथिको मेन्स भेट्रान्स सिंगल्सको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधिसहित जितेन्द्रले नगद ६० हजार हात पार्दा उपविजेता कमलले नगद ३० हजार प्राप्त गरेका छन् ।

४५ वर्षमाथि भेट्रान्स सिंगल्समा रोहित सुनुवार विजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइब्रेकरमा फाइनलमा पराजित गरे । पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २–६ ले गुमाउन पुगे ।

अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समूहको उपाधि सहित रोहितले नगद ४० हजार प्राप्त गर्दा विमलले नगद २० हजार हात पार्न सफल भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात विकले हात पारेका छन् ।

उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मस्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेन्ट’को उपाधिसहित साइकल प्राप्त गरेका छन् । विजेता खेलाडीलाई माछापुच्छ«े बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रबन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, राजु श्रेष्ठ लगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरे ।

माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशनले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए । उनले भने, ‘हामीले अस्पताल बनाउनुभन्दा खेल मैदानको विकास र शिक्षालाई बढी प्राथमिकता दिएका छौं ।’

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की टेनिसका सचिव नवीन श्रेष्ठले समेत बोलेका थिए । प्रतियोगितामा महिला र पुरुष गरी २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

प्रतियोगिता गर्न करिब १६ लाख खर्च भएको जानकारी कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले दिए ।

तपाईको प्रतिक्रिया