सम्पादकीय: संकटमा देउवा

समाधान संवाददाता २०७९ पुष १९ गते १२:०१

गएको आम निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो तर संघ र सबै प्रदेशमा सत्ताबाहिर बस्नुपर्ने अवस्थामा कांग्रेस छ । आफ्नै नेतृत्वमा चुनाव गराएका र सत्ता गठबन्धनको नेतृत्व गरेका सभापति शेरबहादुर देउवा अहिले संकटमा छन् । यतिबेला आफ्नै पार्टीका नेता, कार्यकर्ताले देउवाविरुद्ध विषवमन गरिरहेका छन् ।

Advertisement

कांग्रेसका चुनाव जितेका नेताहरू धेरैजसोले मन्त्रीको सपना देखेका थिए । राष्ट्रपति, सभामुख, मुख्यमन्त्री, प्रदेशप्रमुख बन्न चाहने पनि धेरै थिए । नेता, कार्यकताए आफ्नो पहुँच र क्षमता अनुसारका सपना बुन्दै थिए । पछिल्लो राजनीतिक परिस्थितिले देउवा नैतिक संकटमा परेका छन् । दुर्घटनापछि तिल्मिलाएका नेता, कार्यकर्ता यसको सारा दोष, पार्टीका देउवामाथि खन्याइरहेका छन् ।

संस्थापन इतरको समूहले उनको राजीनामा नै मागिरहेको छ । केही युवा नेताले पार्टी नेतृत्व असफल भएको भन्दै विशेष अधिवेशनको माग पनि गरेका छन् । कुनै बेला नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कांग्रेस सत्तामा जान हुने र नहुने कुरामा विवाद थियो । पछि सरकारमा गएको कांग्रेस संघ र प्रदेशसभाको चुनावमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्नेमा लामो समय अर्निणित रह्यो ।

माओवादी र नेकपा (एस)सहित पाँच दलीय गठबन्धन बोकेर कांग्रेस चुनावमा होमियो । जेसुकै भए पनि मतपरिणामले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाइदिएको छ । एक्ला एक्लै चुनावमा गएको भए नेकपा एमाले सबैभन्दा ठूलो दल हुने देखिएको छ । गठबन्धनकै फाइदाले नेकपा एकीकृत समाजवादीले १० सिट पाएको छ ।

हजारभन्दा कम अन्तरले चुनाव जितेका क्षेत्रहरूमा यदि गठबन्धन नरहेको भए कांग्रेसको हातबाट गुम्ने रहेछ भन्ने लाग्यो । सोही बुझाइका कारण प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्दा देउवालाई अत्यधिक बहुमत प्राप्त भएको छ । सरकार गठनमा देउवाको पद लोलुपताका कारण हातमा आएको अवसर गुमेको आरोप छ ।

Advertisement

होइन भन्ने ठाउँ छैन । घटनाक्रमले त्यही पुष्टि हुँदै छ । यति बेला देउवा पक्षका केही नेतासमेत विपक्षमा उभिएकाले उनलाई अप्ठ्यारो देखिन्छ । तर यो वैधानिक वा कानुनी संकट नभई नैतिक सङ्कट हो । पार्टी पंक्ति यति धेरै निराश हुनुमा नैतिक जिम्मेवारी देउवाले लिनै पर्छ ।

राष्ट्रिय राजनीतिक वृत्तमा के भइरहेको छ भन्नेसमेत उनले भेउ पाउन सकेनन् । सत्ताबाट बाहिर रहनु नै सबै कुरा बर्बाद हुनु होइन । बहुदलीय प्रतिस्पर्धामा गठबन्धनहरु बन्ने, भत्किने कुरा नयाँ होइन । तर, गठबन्धन गरेपछि गठबन्धनको संस्कार देखाउनु, पूर्व प्रतिवद्धता कार्यान्वयन गर्नु भने जरुरी हुन्छ । राजनीतिमा नैतिकताको खडेरी हुँदा समाजका अरु क्षेत्र पनि अराजक बन्न सक्छन् । अहिले आएको संकटको समाधान खोज्ने दायित्व देउवासहित कांग्रेस नेतृत्वको हो ।

तपाईको प्रतिक्रिया