मानव सेवा आश्रमलाई सहयोग

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले विविध कार्यक्रम गरी सोमबार पाँचौं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रमलाई २५ हजार सहयोग गरेको संस्थाका अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।
कार्यक्रममा चेम्बरका सचिवालय सदस्य तथा महिला चेम्बरका महासचिव सीमा कोइरालाले जन्मदिनको अवसरमा आश्रमलाई २ हजार प्रदान गरिन् । संस्थाका उद्योगतर्फका उपाध्यक्ष तथा पूर्ण फर्निचर उद्योगका प्रोपाइटर ज्ञानबहादुर नेपाली तथा पूर्ण नेपालीको सौजन्यमा पोखरा १९ टाकुरा पानीस्वाँरामा पीपल चौतारी बहुउद्देश्यीय सामुदायिक भवनका लागि खानेपानी टंकी प्रदान गरिएको छ ।
अध्यक्ष पौडेलले स्थापना दिवसको सन्दर्भमा पोखरा ५ मालेपाटन स्थित चेम्बरको सचिवालयमा शुभकामना आदानप्रदान तथा दीपावली गरिएको बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले चेम्बर स्थापना गर्नुको उद्देश्य र लक्ष्य अनुसार नै अगाडि बढेको बताए । उनले संस्थाले उद्योगी व्यवसायीको हक हितको अलवा समग्र पोखराको आर्थिक समृद्धिका लागि काम गरेको दाबी गरे ।
‘२००७ सालमा स्थापना भएको नेपालका उद्योगी, व्यवसायीको जेठो संस्था कसैको प्रतिस्पर्धा तथा राजनीतिक रुपम खोलिएको होइन्,’ उनले भने, ‘चेम्बरको नेतृत्व गर्नेले राजनीतिक कारणले ब्यानरको दुरुपयोग गर्दैन । चेम्बरले कोही, कसैलाई प्रतिस्पर्धी ठान्दैन । सबैसँगको सहकार्य र साझेदारीमा काम गर्छ ।’
उनले संघीयताको कार्यान्वयनसँगै देशभारी शाखा विस्तार गरेको तथा वर्षौ पुराना संस्था समेत चेम्बरको सदस्य रहेको जानकारी दिए । चेम्बरको राजस्व परामर्श समिति लगायत राज्यका निकायमा निजी क्षेत्रको प्रतिनिधित्व र पहुँच बराबर भएको भएको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीको हकहितका लागि नीति निर्माणमा सहजीकरण गरेको दाबी गरे ।
उद्योगी, व्यवसायीको सदस्यता शुल्क नै चेम्बरको आन्तरिक स्रोत भएको जानकारी दिदै उनले सदस्यता विस्तार र सचिवालयलाई चुस्त, दुरुस्त बनाउन सुझाव दिए । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष, यमनाथ पौडेलले सबैतहका उद्योगी व्यवसायीलाई समेट्दै संस्थागत संरचनालाई विस्तार गरेको बताए । उनले चेम्बरको दोस्रो वार्षिक साधारण सभाले पोखरा महानगरपालिका वडा स्तरमा इकाइ तथा पालिका स्तरमा संरचना बनाउने निर्णय गरे अनुसार कामअघि बढेको जानकारी दिए ।
चेम्बरको केन्द्रीय साधारण सभामा उत्कृष्ट जिल्ला चेम्बरको रुपमा सम्मानित भएको उल्लेख गर्दै उनले ३ तहका सरकारले चेम्बरको अस्तित्वलाई स्वीकार गरेको दाबी गरे । उनले पोखरा महानगरपालिकाको राजस्व परामर्श समितिमा समेत चेम्बरले स्थान पाएको जानकारी दिए ।
कार्यक्रममा उद्योग, वस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली, उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी, महासचिव नवराज आचार्य, चेम्बर अफ कमर्स कास्की सचिव तथा पीपल चौतारी बहुउद्देश्यीय सामुदायिक भवन निर्माण समितिका अध्यक्ष विष्णुप्रसाद बास्तोला, मानव सेवा आश्रम कास्की संयोजक सदिश पुन, पीपल चौतारी बहुउद्देश्यीय भवन निर्माण समितिका उपाध्यक्ष दिवाकर बांस्तोला लगायतले चेम्बरको स्थापना दिवस तथा संस्थाले सामाजिक क्षेत्रमा गरेका योगदानको चर्चा गरे ।
तपाईको प्रतिक्रिया