सम्पादकीय: मेला, महोत्सवको औचित्य

समाधान संवाददाता २०७९ पुष २१ गते ११:५४

पोखराले सडकमै उत्सव गर्दै अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्‍यो । पोखरामा हरेक वर्र्ष अंग्रेजी र नेपाली नयाँ वर्षमा महोत्सव हुन्छन् । पोखरा उद्योग वाणिज्य संघको मेला र लेखनाथ उद्योग वाणिज्य संघका मेला सकिएका छन् । अब युनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव आउँदै छ । अर्थात् पोखरामा हिउँदमा धेरै थरी मेला लाग्छन् ।

Advertisement

हिउँद लागेपछि मुलुकका विभिन्न स्थानमा मेला–महोत्सव आयोजना गर्ने क्रम छ विगतका वर्षमा पनि यस्ता मेला–महोत्सव आयोजना हुँदै आएका थिए । यस्ता महोत्सवले स्थानीय स्तरमा मनोरञ्जन त दिन्छ नै, त्योभन्दा बढी स्थानीय स्तरमा उत्पादन हुने वस्तुको बजारीकरणलाई सहयोग पुग्छ । बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन प्रेरणा दिन्छ । साना, लघु तथा घरेलु व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने हुनाले पनि मेला, महोत्सवको छुट्टै महत्व छ ।

तर पछिल्लो समय महोत्सवको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । मनोरञ्जनात्मक कार्यक्रम र उद्योग, व्यापारका स्टलमात्र मेलामा हुँदा दर्शक दिक्क हुन थालेका छन् । केही मेलामा दर्शकको उपस्थिति निकै न्यून पनि देखियो । यस्ता महोत्सवले उत्पादक र उपभोक्ता दुवैलाई एउटै थलोमा प्रत्यक्ष रूपमा भेट गराउने मौका मिलाउँछन् । उपभोक्ताले दिने प्रतिक्रियाले उद्यमीले आफ्नो उत्पादनलाई विश्वासिलो र गुणस्तर बनाउने मौका पाउँछन् ।

यसका साथै लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा समेत यस्ता मेला महोत्सवले सहयोग पुर्‍याउँछ । वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, वेशभूषा, कला–संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न पनि महोत्सव सहयोगी बन्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र आयोजना हुने क्षेत्रको पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव सहयोगी बन्ने गरेका छन् ।

तर पछिल्लो समय पुरानै खालका मनोरञ्जनका कार्यक्रम र व्यापार, व्यवसायका स्टलले दर्शकलाई तान्न सकेनन् । अरु बेला बजारमा नपाइने र महोत्सवको विशेष के दिने भन्ने चुनौती आयोजकलाई आएको छ । मेला, महोत्सवले आर्थिक एवं व्यावसायिक गतिविधि बढाउन योगदान गर्नुपर्छ । होहल्ला, नाचगान र मनोरञ्जनमा सीमित बने मेलाहरु विस्थापित हुन्छन् । विगतमा भएका कमजोरीको समीक्षा गर्दै त्यसलाई सच्याएर नयाँ आकर्षण दिने गरी मेला, महोत्सव चलाउनु जरुरी छ ।

Advertisement

महामारीबाट तग्रिने अपेक्षा गरिएको अर्थतन्त्रको गति अझै धिमा छ । यसलाई तीव्र बनाउन कुनै एक पक्षको प्रयासमात्र पर्याप्त हुँदैन । कुनै व्यवसायीदेखि टोल, क्लब, आमा समूह, गाउँ, पालिका, उद्योगी, व्यवसायीका संघ, संस्थाले मेला, महोत्सव गर्ने गरेका छन् । दर्शक वा आम उपभोक्तालाई प्रत्यक्षा फाइदा दिने र आयोजक पनि लाभान्वित हुने गरी नयाँ आकर्षण र नया पक्ष नखोजे मेला, महोत्सवको औचित्य साबित हुँदैन ।

तपाईको प्रतिक्रिया