पोखरा महोत्सवलाई सघाउने वाचा

समाधान संवाददाता २०७९ पुष २२ गते ११:४२

पोखरा ।
११ औं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ, संस्थाले झाँकी र्‍यालीमा सहभागी भई सहयोग गर्ने भएका छन् । युनाइटेड क्लबको आयोजनामा आगामी पुुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखि महोत्सव स्थल अमरसिंह चौरसम्म झाँकी र्‍यालीमा निकाल्ने तयारी छ ।

Advertisement

बिहीबार अमरसिंह चौरमा आयोजित एघारौं पोखरा महोत्सवको अवसरमा आयोजित संघ संस्थाको छलफलमा सहभागीले पोखरा महोत्सव समग्र पोखरेलीको महोत्सव भएकाले सम्पूर्ण संघ, संस्थाले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर उपाध्यक्ष रामबहादुर तामाङले युनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवको माध्यामबाट सामाजिक काम गर्ने भएकाले सम्पूर्ण संघ, संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा महोत्सवकै आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण जस्तो महत्वपूर्ण काम भइरहेको बताउँदै तामाङले महोत्सवको माध्यमबाट आफूहरुको संस्कृतिको प्रवद्र्धन हुने भएकाले आफूहरुको पहिचान झल्कने झाँकी र र्‍याली निकालेर महोत्सवमा सहभागिता गराउनुपर्ने उनको भनाइ छ ।

विशालनगर आमा समूहकी शान्ता देवकोटाले पोखरा महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा काम गर्दै आएको र महोत्सव अवधिभरमा विभिन्न समुदायको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गर्दै आएकाले यसलाई सबै पोखरेलीले साथ दिन आवश्यक रहेको बताइन् ।

Advertisement

देवकोटाले पोखरा महोत्सवको अवसरमा महिलालाई लक्षित गरी हस्तकलाको सामग्री निर्माणको निशुल्क तालिम प्रदान गरी स्वरोजगार बनाउनेतर्फ लागेकोमा समेत खुसी व्यक्त गरिन् । युनाईटेड क्लबका अध्यक्ष तथा पोखरा महोत्सव मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सव सम्पूर्ण पोखरेली र पोखरामा रहेको संघ, संस्थाको सहयोगकै कारण एघारौं संस्करणसम्म आइपुगेको सुनाए ।

आगामी महोत्सवमा समेतसहयोग गरिदिन उनले आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काममा लाग्नु आफैंमा चुनौतिपूर्ण रहे पनि पोखरेलीको सहयोगकै कारण यहाँसम्म आइपुगेको उनको भनाइ छ । सो अवसरमा सगरमाथा टोल विकास संस्थाका बमबहादुर गुरुङ, सिंगापुर टोल विकास संस्थाका धनबहादुर गुरुङ, किरण भट्टचन, स्याङ्जा भुजेल सम्पर्क मञ्चका रवीन्द्र थापा, प्रगतिशील टोल विकास संस्थाका अग्निप्रसाद श्रेष्ठ, पोखरा १३ की लक्ष्मी केसी, घिरिङ होम स्टेका सञ्चालक मानबहादुर रानामगर लगायतले बोलेका थिए ।

युनाइटेड क्लबका पूर्व अध्यक्ष तथा एघारौं पोखरा महोत्सवका संघ, संस्था समन्वय व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव तथा एघारौं पोखरा महोत्सव झाँकी तथा र्‍याली व्यवस्थापन उपसमिति संयोजक पूर्णकला पोखरेल, क्लबका महासिचव दिनेश सुनार लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया