कांग्रेसका चुनौती र अवसर

मदन भण्डारी २०७९ पुष २२ गते ११:५२

मान्छे हर्षमा हाँस्छ र विस्मातमा रुन्छ । आत्तिनु र मात्तिनु हुँदैन भन्नु त कुराको आदर्श हो, अपवादका मान्छेमात्रै आदर्शमा अडिन सक्छन् । नेपाली राजनीतिका शिखर पुरुष मानिएका वीपी कोइराला अपवादजस्तै लाग्छन् । ०१७ सालमा जेल परेका बिपीमा धेरै ठूलो आतस देखिएन । जेलभित्रै उनले अनेक साहित्य सिर्जना गरे । भारतबाट नेपाल फर्केका बिपी साँच्चै महामानव भन्न लायक छन् । नेपाली एकता बचाउन उनले आफैँलाई जेल कोच्ने राजासँग घाँटी जोड्न आइतबार कुरेनन् ।

Advertisement

०३७ को जनमत संग्रहका बेला कम्युनिष्टसँग गठबन्धन गर्न मानेनन् । कम्युनिस्टहरु सत्तामात्रै सत्य हो भन्छन् । सत्ता प्राप्तिका लागि जस्तोसुकै साधन अपनाउँछन् । यता र उति गर्नुलाई विद्रोह भन्छन् र हत्यालाई क्रान्ति ठान्दछन् । नेपालमा नन्दराम अधिकारीको परिवारमाथिको अत्याचारको उदाहरण अन्यत्र पाइनु गाह्राे छ । जनयुद्धको वीभत्सता माओवादीको पतनपछि छिट्टै लेखिनेछ । प्रधानमन्त्री प्रचण्ड भन्ने गर्थे, ‘मैले त मरेपछि पनि सुख पाउँदिन होला !’

वर्तमान सरकारको आयु लम्बिए दुइ, ढाई वर्षपछि नै पापीका पाप धुरीबाट कराउने जनविश्वास अन्धविश्वास हुन सक्दैन । सरकार स्वयम्सँग संसदको सबैभन्दा ठूलो पार्टीको प्रहार छेक्ने ढाल छैन । कमरेडहरु ! ढाल पश्चिमाले प्रयोग गर्न सिकाएको कन्डोममात्रै होइन । नव माओवादी लोकबहादुर मासमै आफ्नो नाम ढालबहादुर बताउँछन् । लिभिङ टुगेदरकी रश्मि काली खितित्त हाँस्छिन् । यौन उन्मादको अत्यधिकताले समाजको जगै खल्बलिँदैछ । यस्तो बेला प्रधानमन्त्री प्रचण्डले दौरासुरुवाल लगाउनुमात्रै पनि किन चर्चाको विषय बन्यो, छलफल गर्नु उचित हुन्छ ।

Advertisement

यसले कांग्रेसका तल्ला तहका कार्यकर्ता र जनतामा एउटा आशा सञ्चार गरेको छ । चेतेर कांग्रेसले आफूलाई सुधार्छ कि !

विदेशमा कपडा कारखाना व्यापकतामा फैलिएकाले स्वदेशमा दामी दामी कपडा सस्तैमा पाइन्छ । ठूलाबढा आफन्तको भोजमा जाँदा भूइँमान्छेहरु पनि भव्य पोसाकमा ठाँटिएका हुन्छन् । मायालु श्रमिक मम्मीहरु बोर्डिङ पढने छोरीको जिन पाइन्ट काटिदिन्छन् । अब कसैले ‘म जुजुमान’ हुनु पर्दैन । बफेकै चलन छ । जुजुमानले जस्तै अपमानित भएर खानु पर्दैन ।

Advertisement

‘बढाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत !’ मंसिर ४ को चुनावअगाडि जय नेपालको अभिवादनमा कमरेडहरुको बानी परेकै देखिन्थ्यो । सम्झना आइरहन्छ, महात्मा गान्धीको सादगी वैयक्तिक कुरा रहेन । धेरैले त्यो पच्छ्याएर जिन्दगी सपारे । लाग्छ, अब धेरै माओवादी कमरेडहरुले दौरासुरुवाल पहिरिन्छन् । यसमा हाम्रो मौलिकता झल्किन्छ । पहिचान झल्किन्छ । ‘मेरो टोपी…..!’ गाउने गोपाल योञ्जन पञ्च थिएनन् । उनलाई त नेपाली नागरिकतासम्म दिइएन ।

तुलसी घिमिरलाई अझै हामी नागरिकता दिन कञ्जुस्याइँ गर्दैछौँ । प्रायः कांग्रेसीहरु कुर्तापैजामामा ज्वारकोट लगाउँछन् । पान चबाएर पिच्च थुक्दा आफूलाई खाँटी कांग्रेस ठान्छन् । यस्ता झिनामसिना गल्ती होइन, ठूल्ठूला राष्ट्रघात कांग्रेसले गरेको छ, अहिले नयाँ सरकार गठनको बेला त केही कांग्रसी जनहरुले चिप्लिएर एक बल्ड्याङ् खाएकामात्रै हुन् ।

हो, दौरासुरुवाल अलि झञ्जटिलो छ । श्रमिक–किसानलाई काममा खटिँदा लाज ढाक्न वा चिसोबाट जोगिन पाए पुग्छ । चुनावमा प्राप्त हुने सबै पार्टीका भेस्ट उनीहरु लगाउँछन् तर बुद्धिजीवी झैँ ती कसैका दास हुँदैनन् । यद्यपि एक जोर दौरासुरुवाल प्रायः नेपाली साँच्छन्, छातीभित्र नेपालीपन सजाएर बाँच्छन् । सधैँ होइन, विशेष औसरमा दौरासुरुवाल लगाउनु मन्त्री नै हुनु पर्दैन ।

विकसित मुलुकले इतिहासलाई ठूलो महत्व दिएका छन् । हामी भर्खरै बितेको विशेष घटनालाई पनि मर्लक्कै भुल्छौँ । मदन भण्डारीको हत्या, वीरेन्द्रको वंशनास, भूकम्प, बाढी वा कोरोना केहीले चेतिएन । ०५६ सालमा प्रमुख प्रतिपक्ष एमालेसँग मिलेर सरकार चलाएको सत्यलाई यसपालि नेपाली कांग्रेसले पटक्कै सम्झिन चाहेन ।

यदि त्यसो भएको भए ५ वर्षे स्थिर सरकार चल्थ्यो र एउटा–एउटा चर्को नारा उचालेर च्याँखे थाप्ने प्रचण्ड वा रवि लामिछानेहरुले दायित्ववोध गर्न पाउँथे । अब के हुन्छ ? केपी ओलीले एउटा उचाई हासिल गर्छन् । प्रचण्ड, रवि र राजेन्द्रका केही भक्तभक्तिनीले जागिर खान्छन् । हुने त्यति हो, देश र जनताको समस्या झनै ओझेलमा पर्छ ।

पोखरामा विश्वप्रकाश शर्माले भने, ‘नहुनु पर्ने भयो तर ठीकै भयो !’ यसले कांग्रेसका तल्ला तहका कार्यकर्ता र जनतामा एउटा आशा सञ्चार गरेको छ । चेतेर कांग्रेसले आफूलाई सुधार्छ कि ! काँग्रेस सच्चिदा अरु सबैले सच्चिने मौका पाउँछन् । दमन ढुंगाना सरकार सत्तापक्षको, संंसद प्रतिपक्षको भन्थे । एमाले महिनौँ संसद अवरुद्ध गथ्र्यो । माओवादी सभामुख नेम्वाङको शिर र शरीर ताकेर उफ्रिन्थ्यो । अब प्रमुख प्रतिपक्षको भूमिका कांग्रेसले कसरी निर्वाह गर्छ ? पहिलो छाँट शेरबहादुर देउवाले पार्टीभित्रै देखाउनु पर्छ ।

दोस्रो आरजु राणा र तेस्रोमा देउवाको देवत्वकरणमा रमाउनेहरुले गम्भीर चिन्तनका साथ व्यवहारिकतामा आउनुपर्छ । प्रतिगामी भनिँदा हिजो राजा सजिलै पन्छिए । भर्खरै केपी ओलीले ५ दलीय गठबन्धनलाई प्रतिगामी ठहर गरिदिए । व्यापारमा रमाएका राजाबाट राजकाजमा गल्ती त्रुटि अवश्य भयो होला । तर अहिले राजाबाट उच्च सूझबुझ देखाइएको सत्य सबैका अगाडि छर्लङ छ ।

भारतेली मिडिया नेपालका कम्युनिस्ट चीनिया इसारामा नाँचेको फत्तुर लगाउँदै छ । कमरेडहरुले इन्डोपश्चिमाको रिन कसरी चुकाउने ! एमसिसी र बिआरआईमा कसरी सन्तुलन खोज्ने ? चित्रबहादुर केसी प्रचण्डलाई कुहिएको अण्डा भन्दैछन् । कांग्रेसले काँध कसरी पखाल्ने ? राणाविरोधी क्रान्तिका बेला मोहन शमशेरलाई टाउकोमा राखेर डा. केआई सिंहलाई थुन्ने कांग्रेस, एमालेलाई स्वाद चखाउन जंगल जंगल दौडिरहेका माओवादी लडाकाका ठूलै फौजलाई सांसद बनाउने कांग्रेस, एमाले टोकाउन आफ्नै कार्यकर्तालाई मधेसको बाघ बनाउने काङ्ग्रेस, आफैले लेखेको संविधानको धारा ७६(३) बाहेकका अरु धारा पढ्न मट्ठू कांग्रेस ; राजतन्त्रबारे न्याउरी मारी पछुतो गर्दैछ ।

राणाको आपसी खिचोला देखेका क्रूद्ध जनताले ०७ सालमा हलुकासँगै कांग्रेसलाई सत्ता सुम्पिए, ०४७ मा राजाले गरिखाऊ कांग्रेस भने । भाषणकै भरमा एमाले अगाडि आएपछि मान्छे मारेरै माओवादी सक्कली कम्युनिस्ट ठहरिए । ढाडमा टेकेर खोजी खोजी कांग्रेस मारिँदाको पीडा शेरबहादुरलाई भएन ।

१० सिटमा खुम्चिन लागेको माओवादीलाई ०७९ मंसिरमा काङ्ग्रेसले माउले चल्ला जोगाएझैँ जोगायो । जे होस् अब सबैको हैसियत छर्लङ्ग छ । कांग्रेसले सानो चुनौती ठूलो औसर पाएको छ । कवि भन्छन्, ‘मौका आउँछ पर्खँदैन त्यसमा चुक्ने बडो लण्ठ हो !’ घाँटीभन्दा ठूलो हाड निल्नेका हालत छिट्टै देखिएला ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया