कपडा व्यवसायीमा गजेन्द्रमान

पोखरा ।
कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत भएका छन् । शनिबार भएको एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षमा सर्वसम्मत नयाँ समिति चुनेको हो ।
वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, महासचिवमा चोकबहादुर गुरुङ, सचिव पूर्णबहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजु छन् । सदस्यमा रजनी चापागाई, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सिना र नारायणप्रसाद अधिकारी छन् ।
शनिबार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्य चयन गरेको छ ।
सभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याप्रति आफू जानकार रहेको बताए । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीति अवलम्बन गरेको उनले बताए ।
उनले भने, ‘व्यवसायीका समस्याप्रति म जानकार नै छु, त्यस हिसाबले पनि यहाँलाई थाहा नै होला, हामीले सम्पत्ति कर घटाएका छौँ, व्यवसाय कर घटाएका छौँ, विज्ञापन कर खारेज गरेका छौँ, पार्किङ शुल्क खारेज गरेका छौँ, यद्यपि पार्किङ विषयमा थप व्यवस्थापन गर्न बाँकी छ ।’
महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने व्यवसायीका समस्या समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । ‘हामीले अर्काे ठूलो काम पनि गरेका छौँ, घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा घटाइएका छौँ,’ प्रमुख आचार्यले भने, ‘४ प्रतिशतमा झर्दा पनि घरधनीहरूले तिर्दैनन् भने त्यो कारबाहीका लागि योग्य हुन्छ ।’ घर बहालमा बस्नेले नै कर तिर्नुपर्ने अवस्था अन्त्यका लागि पोखरा महानगरपालिका सचेत रहेको उनले सुनाए । घर बहालका सम्बन्धमा दुई थरी खाता राख्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सिना र साँघुमुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले बोलेका थिए ।
रजत उत्सवसमेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानसमेत प्रदान गरेको छ । पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार भीम थापालाई प्रदान गरिएको छ । १ दशकदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद ११ हजार १ सय ११ सहित सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो ।
एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, निवर्तमान अध्यक्ष नवीन नापित र महासचिव धर्ममान सिंह भण्डारीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया