‘चर्चित खेलाडी नेपाल ल्याउन पहल गर्छाैं’

पोखरा ।
लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपालमा उपयुक्त वातावरण भएको खण्डमा नेपालका फुटबल खेलाडी स्पेन र विश्व चर्चित फुटबल खेलाडीलाई नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।
फाउन्डेसनको आयोजनामा हालै पोखरा र काठमाडौंमा भएको मैत्रीपूर्ण फुटबल खेलको बिहीबार पोखरामा आयोजित समीक्षासहित धन्यवाद ज्ञापन कार्यक्रममा उपाध्यक्ष सुवेदीले नेपालको फुटबल खेलको विकासका लागि आफूहरुले नेपालका खेलाडी स्पेन र स्पेनबाट विश्वकै चर्चित खेलाडी नेपाल ल्याउने उपयुक्त वातावरण भए त्यसमा पहल गर्ने बताएका हुन् ।
शान्ति र पर्यटनका लागि फुटबल भन्ने नाराका साथ नेपालमा ऐतिहासिक मैत्रिपूर्ण फुटबल खेल भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई फाउन्डेसनले धन्यवाद दिएको छ ।
आफूहरुले विश्वमा फुटबल खेलको माध्यमबाट शान्ति र पर्यटन प्रबद्र्धन गर्न खोजेको यो अभियानमा हाल १६ देशसँग सम्झौता भएको दाबी गर्दै उपाध्यक्ष सुवेदीले अब आफ्नो अभियानमा विश्वका धेरै देश जोडिने दाबी गरे ।
स्पेनको बि डिभिजनको उत्कृष्टमध्यको एक काथेरेन्यो फुटबल क्लब नेपालमा ल्याएर नेपाली मैदानमा खेलाउँदा आफूहरुले अपेक्षा गरे अनुसार केही क्षेत्रबाट सहयोग नपाएको गुनासो उनले सुनाए ।
भगवान गौतम बुद्ध र विश्वको शिखर सगरमाथाको नाम विश्वसामु चिनाउन पनि स्पेनमा आफूहरु लुम्बिनी पार्क निर्माण गर्ने अभियानमा रहेको महासचिव एकराज गिरीले बताए ।
काठमाडौं ११ का टिम प्रशिक्षक मेघराज केसीले स्पेन जस्तो देशका विश्व कपमा खेलेका र य्रोकप खेलेका खेलाडी नेपाल आएर नेपाली फुटबल खेलाडीसँग खेल्न पाउनु निकै ठूलो खुसीको कुरा भएको बताए ।
गण्डकी ११ का कप्तान राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसमेत रहेका अनिल गुरुङले स्पेन र नेपालको फुटबल खेलको स्तर धेरै भिन्नता भए पनि यस्ता कार्यक्रम निरन्तर हुन सके नेपाली फुटबलको विकास हुने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नेपाली खेलकुदको विकास गर्ने संस्थालाई मञ्चले सधै सहयोग गर्ने बताए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जल रञ्जितले नेपाली फुटवल विकासमा फाउन्डेुनले गरेको प्रयास प्रशंसनीय भएको बताए ।
तपाईको प्रतिक्रिया