पर्यटन प्रवद्र्धन गर्न पोखरा महोत्सव

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि युनाइटेड क्लवले ११ औंं पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सव गर्न लागेको अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले ११ औं संस्करणको महोत्सवको सबै तयारी पूरा भएको बताए ।
उनले क्लबले महोत्सवमार्फत पोखरामा खुल्ला चिडियाखानाको अवधारणाअघि सारेको उल्लेख गरे । ‘महोत्सवको आम्दानीबाट क्लबले शिक्षा क्षेत्रमा पोखरा आसपासका १८ सामुदायिक विद्यालयमा छात्रवृत्तिको लागि अक्षयकोष स्थापना गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘पर्यटन प्रवद्र्धनतर्फ चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रकम हस्तान्तरण गरिसकेका छौं ।’ अध्यक्ष श्रेष्ठले चिडियाखानाको परियोजना गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालयको स्वामित्वमा प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढेको जानकारी दिए ।
उनले स्वास्थ्य सेवा अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्य क्षेत्रका संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविर गरेको बताए । अध्यक्ष श्रेष्ठले खेलकुद प्रतियोगिताको आयेजना तथा खेलकुद कार्यक्रममा प्रायोजनको काम गरेको उल्लेख गरे ।
क्लबका महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तव्य निर्माणको लागि पहल गर्ने जानकारी दिए । उनले पोखरा २६ अर्चलेको क्लबको आफ्नै जग्गामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्राबास निर्माणको लक्ष्य लिएको सुनाए ।
क्लबले शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धनको अलवा सेती नदी संरक्षणलाई विशेष जोड दिएको जानकारी दिँदै उनले महोत्सवको प्रत्येक टिकटबाट १ रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कामलाई निरन्तरता दिएको उल्लेख गरे ।
आयोजकका अनुसार लगातार रुपमा १३ दिनसम्म चल्ने महोत्सवमा २ सय ५८ स्टल रहने छन् । महोत्सव २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा छ । महोत्सव मार्फत देशको कला, संस्कृति, भेषभूषाको संरक्षणको अलवा आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुको बजार सहजीकरणमा सहयोग पुग्ने क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
पछिल्लो समयमा विकसित सूचना प्रविधिलाई जनसमक्ष पुर्याउनेदेखि गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने उनको दाबी छ । उनले सबै कलाकारको प्रतिभा प्रस्फुटन गराउनेदेखि आर्थिक क्षेत्रको चलायमान तथा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताए । उनले उद्योग व्यवसायको प्रवद्र्धनको लागि महोत्सवले सहयोग पुग्ने उल्लेख गरे ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्याेगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री गरिनेछ । सूचना प्रविधिको प्रदर्शनी, व्यवसायिक संघ, संस्थाको सेवाका बारे जानकारी दिइने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्रीको व्यवस्था गरिने कार्यक्रम छ ।
पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी गर्नुका अलवा महोत्सवमा नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधि सञ्चालन हुनेछन् ।
महोत्सवको आकर्षणमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खाँड, प्रिती आले, चोलेन्द्र पौडेल, ज्योति मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने क्लबले जनाएको छ ।
कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दीक्षिता कार्की, झिल्के एन्ड द कम्पनी, अनुप्रस्था, अभय एन्ड द स्टीम इन्जिन्स, एएसएम र लोकल व्यान्डहरुको प्रस्तुति महोत्सवमा हुनेछ । महोत्सवमा त्यसैगरी हाँस्यव्यंग्य प्रहसन, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने क्लवले जनाएको छ ।
महोत्सवको थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनका लागि सवारीको व्यवस्था, भिआरनाइनडी, टिकटक प्रतियोगिता र विभिन्न मनोरञ्जनका कार्यक्रम सञ्चालन हुँदै छन् । महोत्सवमा शारीरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र पोशाकसहितका सुरक्षाकर्मीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइनेछ ।
महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार उद्घाटन गर्ने तय छ । महोत्सवको प्रचारप्रसारका क्रममा मंगलबार मोटर साइकल र्याली निकाल्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया