‘सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गरौं’

समाधान संवाददाता २०७९ पुष २६ गते १३:०४

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको छ ।

Advertisement

गण्डकी प्रदेश सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ ले गरेका व्यवस्था कार्यान्वयनका लागि अभियान थालेको केन्द्रका कार्यवहाक अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनले जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सरोकारवालाको समन्वय र सहकार्यमा अभियान गरेको बताए ।

‘ऐन कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा प्रचारात्मक कार्यक्रम गरिनेछ । प्लेकार्डसहित सचेतनामुलक र्‍याली निकाल्ने, माइकिङ, पर्चा पम्प्लेट वितरण गर्ने योजना छ,’ दोस्रो चरणमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने लगायत ऐन उल्लघंन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ ।’ अध्यक्ष पराजुलीले विद्यालयको १ सय मिटर आसपासको क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने व्यवस्थालाई कडाइका साथ पालना गराउने जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ऐनले गरेका सबै व्यवस्था कार्यान्वयन गर्न पहल गर्ने बताए । ऐन आकर्षित हुने सबै ठाउँमा अभियान चलाउनुपर्ने उल्लेख गर्दै उनले सरकारले जारी गरेको ऐनको परिपालना गर्नुपर्ने दायित्व नागरिकको भएको चर्चा गरे ।

राज्यका निकायले गर्नुपर्ने सकारात्मक काम सामुदायिक सेवा केन्द्रले सुरुवात गरेको चर्चा गर्दै उनले राज्यका निकाय ऐन कार्यान्वयन तहमा जानको लागि पछाडि नहट्ने बताए ।

Advertisement

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले ऐन कार्यान्वयनका लागि प्रचारप्रसार, समनवय र अनुगमन समिति गठन गरेको जानकारी दिए । उनले स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्यको संयोजकत्वमा समिति बनेको बताए । उनले विगतमा भएको अनुगमनमा विद्यालयको आफ्नो सटरमा ती वस्तु बेच्ने गरी भाडामा लगाएको पाइएको उल्लेख गरे ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले ऐन कार्यान्वयनका सबै अभियानमा नेपाल प्रहरीको शत प्रतिशत सहयोग रहने बताए । उनले समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम, माइकिङ लगायतका काममा प्रहरीले सहयोग गर्ने उल्लेख गरे ।

जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख आचार्यले ऐनको उल्लंघन गरेमा उजुरी सुन्ने तथा जरिवाना गर्ने निकाय स्वास्थ्य कार्यालय भएको जानकारी दिए । उनले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेमा निरीक्षकले १ सय रुपैयाँ गर्न सक्ने व्यवस्था गरेको सुनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका न्यायिक समितिका सदस्य भावना श्रेष्ठ, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव मनपति भण्डारी, नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुप्रसाद अधिकारी लगायतले ऐनले १८ वर्षमुनिका व्यक्ति तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री, वितरण गर्न नपाइने व्यवस्था गरेको बताए ।

तपाईको प्रतिक्रिया