बैंकले ब्याजदर घटाउँदै

काठमाडौँ ।
वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि बैंकहरूले १ दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।
हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।
यसैबीच, बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मतरूपमा चयन गरेको हो । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै संघको अध्यक्ष पद खाली भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि संघको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत बने ।
कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।
तपाईको प्रतिक्रिया