समयको कालक्रम र पुस महिना

रेशम शर्मा बस्ताकोटी ।
समयको कालखण्डमा हाम्रा पुर्खाले भारतलाई लाहुर जाने भन्दथे । किनकि, त्यसबेला भारत अंग्रेजको हातमा थियो । जुन समय त्यहाँ रहेका नेपालीलाई हिन्दू वीर गोर्खाली भन्ने गरिन्थ्यो । पछि गर्दागर्दै हिन्दूहरू आई बसेका कारणले उक्त देशलाई हिन्दूस्थान भन्ने गरे । समय बित्दै जाँदा अंग्रेजको थिचोमिचो सहेर बसेका भारतीय जनताको सहयोगले महात्मा गान्धीको कमान्डबाट भारतलाई स्वतन्त्र भारत घोषणा गरियो ।
भारत सरकारबाट राष्ट्रियताको सम्मान दिँदै हरेक मुद्राहरूमा महात्मा गान्धीको प्रतीक कायम गरियो । सबैले देखेकै छौं । यस्तो इतिहास पढेका हामीलाई थाहा छ आज धेरै देशको सार्वभौमसत्ता जनतामा निहित छ । देशमा जनप्रतिनिधि छन् तर अन्य देशका र नेपालका जनप्रतिनिधिको कार्यशैली भने अमिल्दो देखिन्छ । हिजो भारतमा आधा रोटी खाऊ, भारत माता बचाऊ भन्ने उद्घोष गरिरहेका उनीहरूका लागि दालरोटी र साग नै काफी थियो, आज पनि त्यो छ ।
तर हाम्रा देशका जनप्रतिनिधि भने भर्याङ चढेपछि जनता भुल्न थालेका छन् । दुवैतर्फ विशाल राष्ट्र छन् । यस्तो अवस्थामा देशमा के कस्तो परम्परा र संस्कारको विकास भइरहेको छ ? त्यसतर्फ ध्यान जानुको सट्टा खुट्टा तानातानमै कार्यकाल समाप्त हुन्छ । देशको विकास ओझेलमै हुन्छ । तसर्थ दलित व्यवस्थाबाट निर्वाचित व्यक्तिले जनताको भावना समेटिने र राज्यका लागि लायक हुने कार्य नदेखिनु दुःखको कुरा हो ।
यत्तिका परिवर्तन हुँदा पनि हामी हिजोको राज्य व्यवस्थाको विरोध गरेर समय बिताइरहेका छौं । आजको व्यवस्थाले के गरिरहेको छ ?
आज यतिका परिवर्तन हुँदा पनि हामीले हिजोको राज्य व्यवस्थाको विरोध गरेर समय बिताइरहेका छौं । तर आजको हाम्रो व्यवस्थाले के गरिरहेको छ ? भविष्यको सोच गरेर हाम्रा पुर्खाले हरेक जिल्ला–जिल्ला, गाउँगाउँमा सरकारको स्वामित्वमा जग्गा नराखी दिएको भए राज्यले व्यक्तिसँग खरिद गर्नुपर्ने अवस्था हुँदा कस्ता उल्झन पर्दा रहेछन् ? वर्तमानमा विकास निर्माणका साना योजना अगाडि बढाउँदा बाटोघाटो, पुलपुलेसो बनाउँदा मुअब्जाका नाममा के कस्ता झमेला भइरहेका छन् ? हामीले देखेका छौं ।
त्यसैले वर्तमानका सक्षम प्रतिनिधिले भविष्यका लागि फराकिलो सोच राखी शासन पद्धति लागू गरेर जनताका भावनालाई पूरा गर्न आवश्यक देखिन्छ । विदेशीको पाउ पर्नुभन्दा आफ्नै सहपाठीसँगको मनमुटावलाई बिर्सेरअगाडि बढेर जनताका सामु आफूले गरेको वाचा पूरा गरेमा समृद्धि आयो भने हामी सुखी र खुसी नेपाली भएर बाँच्न पाउने छौं ।
धर्मको राजनीति गर्नु हुँदैन भनेर देशमा सर्वधर्मले बास गरेको छ । कर्मको लक्ष्य सबै धर्मको एकै हुन्छ । किनकि जसरी पानीले प्यास मेटाउँछ, त्यस्तै धर्मले शान्ति मिल्छ, परोपकार सिकाउँछ । विश्वमा सबैभन्दा उत्कृष्ट र पुरानो ग्रन्थ वेद हो । वेदको उत्पत्ति नेपालमा भएकामा दुई मत छैन । यही वेदको रहस्यलाई चिन्तनमन्थन गरेका कैयौं राष्ट्रले उल्लेख्य प्रगति गरेँ, हामी जहाँ थियौं, त्यही ठाउँमा छौं कि अधोगतिमा छौं ? आत्मसमीक्षा गर्नुपर्ने भएको छ ।
लिच्छविकालीन, मल्लकालीन अवस्थालाई हेर्दा, हाम्रो देशको कलाकौशलको कुरा सुन्दा आज नेपाल देश सु–सम्पन्न हुनुपर्ने थियो । तर त्यो हुन सकेन । हिजो शोषक–सामन्तको दबाबमा जनता थिए । म मात्र खाऊ, म मात्र सुखी र खुसी हुन सकौं भन्ने भावना भएका व्यक्ति धेरै थिए भनेर हिजोको व्यवस्थाको उपेक्षा गर्दै गर्दा आज हामी कस्तो व्यवस्थामा छौं र हामीले के गरिरहेका छौं भन्ने कुरा बिर्सनु राम्रो होइन ।
समयको कालक्रमसँगै हरेक वर्ष हाम्रो घरदैलोमा पुस महिना आउँछ । पुस आएपछि २७ गतको सन्दर्भ चर्चामा आउँछ । तर नेपाललाई एकीकृत गर्ने राजा पृथ्वीनारायण शाह र कुरे राणाले जाहनिया शासनको हातबाट स्वतन्त्र राज्य नेपाल घोषणा गरे ।
प्रजातन्त्रको उदय गराउने राजा त्रिभुवनले शोषणरहित समाजको निर्माण गर्न देशव्यापी क्रान्तिकारी भूमिसुधार लागू गराए । ७५ जिल्ला १४ अञ्चलमा देश विभाजित गरी संयुक्त राष्ट्रसंघको प्रथम सदस्य हुन सफल गराउनेदेखि सुन्दर शान्त नेपाल बनाउन उत्कृष्ट कदम चालिरहेका राजा महेन्द्र शान्ति क्षेत्र प्रस्ताव राखे ।
जुन बेला बहुदलीय व्यवस्था दिने र तत्काल रहेको सरकारले माओवादीलाई समाप्त गर्नुपर्ने सुझाव दिँदा यी पनि नेपाली हुन सबैसँग वार्ता गरी समस्या समाधान गर्नुपर्ने सन्देश दिने राजा वीरेन्द्रका शालिक फोर्ने देशका जनतालाई अन्य मुलुकले कस्तो दृष्टिले हेरिरहेको होला भन्ने बुझ्न नसकेर हामीले आकाशतर्फ थुक्ने काम गर्छौ भने हामीबाट आफ्नो इज्जतमा छिटा पार्ने काम बाहेक केही हुँदैन ।
पृथ्वीनारायण शाहको अपूर्णमय योगदानलाई भुल्न नसकेकै कारण जब पुस महिना लाग्छ, तब २७ गतेको चर्चा हुन थाल्छ । यो दिनले नेपालीको हृदयलाई झक्झकाउने हुँदा हामी सबै नेपालीले पुस २७ गतेलाई एकता दिवसका रुपमा स्मरण हुनु अत्यन्त सान्दर्भिक विषय हो । हामीले कुनै व्यक्तिले यो कुरा उठाउँदै गर्दा धेरै व्यक्तिलाई कुरा उठाउने व्यक्ति राजावादीको लेपन लगाइदिने संस्कार मौलाएको छ ।
सत्य के हो भने, यो देश निर्माणमा राजाको मात्र योगदान छैन, हाम्रा पितापुर्खासमेतको रगत भिजेको छ । यो भिजेको रगतलाई अवमूल्यान नगरिकन सञ्चित गरी राख्नु हामी सबै नेपालीको साझा कर्तव्य हुन्छ । त्यसै कारण विश्वका सामु हामीले अपमानित हुने काम हामी आफैबाट नगरौं ।
हिजो नेपाल नामाकरण हुनुअगाडि विभिन्न जातजातिका अलग अलग राजा थिए । जुनबेला आ–आफ्नै तौरतरिका र नियम अनुसार चल्ने गरेका थिए । सोही समयमा २२–२४ राज्यहरू स्थापना हुनु राज्य कोष पनि बचत हुनु थियो ।
तर हामीले आज भारतले महात्मा गान्धीको योगदानलाई भुल्न नसकेर भारतीय मुद्रामा गान्धीको फोटो राख्न थाल्यो, चीनले माओको सिद्धान्त भुल्न नसकेर उच्च सम्मान दियो तर हामी कहाँ आज निर्माण भएका ७७ जिल्ला भित्र हाम्रा पुर्खाको रगत भिजेको इतिहासलाई गुमनाम बनाइएको छ, हाम्रा पुर्खाको रगतको अवमूल्यन भएको छ ।
जनताको घरबाट धूँवा ननिस्केसम्म आफूले खाना नखाने राष्ट्रसेवक र जनताको नासो जनतालाई फिर्ता गरेका छौं भनेर यो आजको व्यवस्थाका लागि वातावरण निर्माण गर्नेहरूको स्मरण नगरे पनि कमसेकम हामीले हाम्रा पुर्खाको योगदानलाई भुल्न हुँदैन ।
अब हिजोको टिस्टा, काँगडा, लिपुलेक र सुस्तासम्म फैलिएको नेपाली भू–भागलाई समयको कालखण्डमा कुनै सक्षम योद्धाले फिर्ता गर्न सक्यो भने सूर्यचन्द्र रहेसम्म त्यो व्यक्ति जीवन्त रहिरहनेछ । हिजो हाम्रा पुर्खा हतियारको युद्धभन्दा विचारको युद्ध लडेका थिए । आजको वैज्ञानिक युगले पनि विचारको युद्ध खोज पाइन्छ ।
देश नरहे हामी नेपाली हौ भन्ने शब्द पनि रहँदैन । यसैले यो बलवान समयको गतिलाई चिन्तन गर्दै एकता दिवसको महत्वलाई आम नागरिकले राम्रोसँग बुझ्न सके भने हाम्रा पुर्खाको आत्माले शान्ति पाउने छ । यसैले सक्छौं देश भित्र जनताका लागि उपयोगी हुने राम्रा राम्रा काम गरौं । जनताको सेवा गरौं ।
सक्दैनौं भने अनर्थका टीकाटिप्पणी, गालीगलौज गर्न छाडौं । कुनै पनि व्यक्ति कोहीलाई मन पर्न सक्छ, कोहीलाई मन नपर्न सक्छ त्यो स्वाभाविक हो तर उसका सत्कर्म र दिव्य उपदेशलाई हरेक नेपालीले मनन गर्न सके राष्ट्र र जन हित आफैँ हुनेछ ।
अन्त्यमा परापूर्व कालदेखिका घरेलु उद्योग, कलकारखानाका उत्पादन, लत्ताकपडा, जडिबुटी, खनिज पदार्थ र कृषि उत्पादन आज के भइरहेको छ ? अनुभव र ज्ञान नभएका व्यक्तिका हातमा देशको तालाचाबी पर्दा देशका उद्योग, कलकारखाना समाप्त भए । अब समाप्त हुन बाँकी रहेको एउटा राष्ट्र र राष्ट्रियता हो ।
हाम्रो यस्तै कर्म चल्दै गयो भने यो पनि कालान्तरमा के हुने हो भनेर चिन्तन गर्नुपर्ने भएको छ । यसैले समयको कालक्रम र पुस २७ लाई चिन्तन र मनन गरेर अगाडि बढौं । लाहुरे संस्कार र संस्कृतिलाई अन्त्य गर्नतर्फ हामी लागौं यसो गर्न सकियो भने हाम्रो भागमा सफलता अवश्य पर्ने छ ।
तपाईको प्रतिक्रिया