कच्ची सडक, महँगो भाडा

प्रमिला कुँवर २०७९ माघ १ गते ११:२६

प्रमिला कुँवर, पोखरा ।
बागलुङको गलकोट १० पाण्डवखानीमा यातायात व्यवसायीले मनपरी भाडा असुल्दा यात्रु मर्कामा परेका छन् । २० किलोमिटर सडकमा यात्रा गरेको भाडा ५ सय रुपैयाँ छ । पाण्डवखानीदेखि नगरपालिकाको प्रशासनिक कार्यालय वडा नम्बर ३ हटियासम्म जम्मा २० किलोमिटर सडकको भाडा व्यवसायीले महँगो लिने गरेको स्थानीयको गुनासो छ । हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने सडकको यात्रासमेत सहज छैन ।

पाण्डवखानीको सिद्धथान डाँडादेखि वडा नम्बर ७ मल्मको टोकरीसम्मको सडक जोखिमपूर्ण छ । पैदल हिँड्दा २ घण्टामै पुग्न सकिन्छ भने सडक कच्ची भएकाले गाडीमा पनि कम्तीमा पनि २ घण्टा नै लाग्छ । व्यवसायीले भाडा मनपरी लिएको जानकारी वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदा पनि वडाध्यक्षले केही कदम नउठाएको स्थानीय सुरेश छन्त्यालले गुनासो गरे ।

‘वडाध्यक्ष निर्वाचित भएको १ महिनामै ४५ जनाले हस्ताक्षर गरेको पत्र वडा कार्यालयमा बुझाएका थियौँ, ७ महिना बित्दा पनि सुनुवाइ भएन,’ उनले भने, सडक सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि सडक स्तरोन्नति नहुँदा चर्काे भाडा तिर्नुपरेको छ । सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यवसायले एकैचोटि १ सय ५० रुपैयाँ बढाएका थिए ।

Advertisement

पाण्डवखानीको सिद्ध थान डाँडादेखि वडा नम्बर ७ मल्मको टोकरीसम्मको सडक जोखिमपूर्ण छ

हरेक वर्ष बर्खाले सडक बिग्रने समस्याको पूर्ण समाधान आवश्यक रहेको छन्त्यालले बताए । सडकका लागिका छुट्टाइएको बजेट पहिरो पन्छ्याउन खर्च हुँदा सडक स्तरोन्ति हुन नसकेकोे उनको भनाइ छ । महँगो भाडाले यात्रुमात्र होइन; व्यवसायी पनि मारमा छन् । ढुवानी खर्च महँगो हुँदा सामानको मूल्य महँगो भएको छ । ‘सामान लिन हटिया आउनुपर्छ, हटिया आएर फर्किंदा गाडी भाडामात्रै १ हजार लाग्छ,’ स्थानीय किराना पसल व्यवसायी गीता पुनले भनिन् ।

Advertisement

दसैँ, तिहार र बर्खामा भाडा डबल लिने गरेको पुनको भनाइ छ । ‘सडक राम्रो बन्दै गएको छ, तर व्यवसायीले भाडा बढाउँदै गएका छन्,’ उनले भनिन्, ‘हामीले श्रमदान गरेर बनाएको सडकमै महँगो भाडा तिरी आवावजावत गर्न बाध्य छौं ।’

जिप व्यवसायी केशव भित्रकोटीले भाडा अलि बढी भएको स्वीकारे । तर सडकको अवस्था र डिजेलको मूल्य अनुसार भाडा ठीकै भएको उनको भनाइ छ । ‘सडक राम्रो छैन, हप्तामै गाडी मर्मतका लागि ४/५ हजार खर्च हुन्छ । डिजेल, पेट्रोलको मूल्य पनि बढेको छ, गलकोट नगरपालिकामा पेट्रोल पम्प एउटा पनि छैन ।

सदरमुकामबाट ढोलमा ल्याएको पेट्रोल किन्नुपर्ने अवस्था छ, पम्पमा १ लिटर पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ पर्छ भने ढोलको किन्दा १ लिटर २० देखि ५० रुपैयाँ बढी पर्छ,’ उनले भने । दसैं, तिहारको समयमा भाडा महँगो लिने गरेको रीम काउचाको भनाइ छ । चाडवाडमा पोखराबाट गाउँ जानेमात्र हुन्छन्, गाउँबाट पोखरा खाली फर्किंनुपर्दा डिजेल खर्च मिलाउन २ हजारसम्म लिने गरेको काउचाले बताए । काउचा जिप व्यवसायी हुन् । उनी पाण्डवखानीदेखि पोखरासम्म गाडी चलाउँछन् ।

‘हटियादेखि पोखरासम्म नगरले नै १ हजार १ सय ५० रुपैयाँ भाडा निर्धारण गरेको छ,’ उनले भने, ‘पाण्डवखानीदेखि पोखरासम्मको भाडा १ हजार ६ सय ५० उपयुक्त हो ।’ ‘ग्रामीण क्षेत्रमा गाडी चलाउन निकै सास्ती छ ।

गाउँमा यातायात व्यवसायी समिति छैन, दुर्घटना भयो भने यात्रुले यातायातका तर्फबाट पाउनुपर्ने सेवा, सुविधा, क्षतिपूर्ति पाउने आधार नै छैन, चालक र साधनले व्यक्तिगततर्फबाट गरिएको बिमा सुविधा पाउँछन्,’ उनले भने, ‘समिति बनाउन कुरा राखे पनि प्रयास सफल भएन, समिति भयो भने सबै वर्गलाई फाइदा हुन थियो । निश्चित भाडा तय हुने थियो ।’

वडाध्यक्ष भक्तबहादुर काउचाले तत्कालै नयाँ भाडा निर्धारण गर्न वडाले नसक्ने बताए । व्यवसायी र यात्रुबीच छिट्टै छलफल गर्ने तयारी रहेको उनले जानकारी दिए । ‘पहिले एक पटक छलफलमा बसेर भाडा घटाउने निर्णय भएको थियो, सडकको अवस्था र डिजेलको मूल्यवृद्धिले भाडा घटाएर गाडी चलाउन सक्ने अवस्था नै भएन ।

हामीले व्यवसायीलाई दबाब दिँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने डर रह्यो,’ उनले भने । सवारी साधनको संख्या कम हुँदा भाडा चर्को भएको हो । बस सञ्चालनमा आयो भने राहत पुग्ने थियो, त्यसका लागि पहल गरिरहेका छौँ, १/२ वर्षभित्रमा सञ्चालनमा आउनेछ ।’

स्थानीय तहका सडक सुधार तथा निर्माणका निर्णय प्रदेश तथा संघले नै गर्ने हुँदा सोचे जति विकास हुन नसकको वडाध्यक्ष काउचाको भनाइ छ । ‘सडक निमार्णको टेन्डर केन्द्रबाटै वितरण हुन्छ, स्थानीय तहले नै टेन्डर आह्वान गर्ने, स्थानीय कम्पनीलाई जिम्मा दिने र मजदुर पनि स्थानीय नै भए भने समाजमा छिटो समृद्धि आउने थियो,’ उनले भने, आफ्नो गाउँको विकास गर्न पनि संघ तथा प्रदेशले निर्णय पर्खेर बस्नु परेको छ ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया