खुँदो किसानको ‘नमिठो’ व्यथा

भीमपाणि बराल २०७९ माघ १ गते १२:२०

लेखनाथ ।
पुसे पन्ध्रममा लट्टे (अनदीको चामलमा खुदो हालेर पकाउने परिकार) र माघे संक्रान्ति (माघ १)मा खुँदो चिउरा खाने चलन छ । वर्षको एक पटक खुँदो र खुदोका परिकार खानाले जाडोको समयमा तातोपन दिने र घरमा पूजापाठका लागि पनि खुदो राख्नुपर्ने आवश्यकता पूरा हुने गरेको थियो ।

Advertisement

कास्कीको पोखरा ३२ का मालेपाटन र ढोडवेशीलाई उखु गाउँको रुपमा चिनिन्छ । यस क्षेत्रबाट उत्पादन भएको खुँदो सेवन गर्दा औषधीको समेत काम गर्ने मान्यता छ । पोखरा र आसपासका जिल्लाबाट पनि खुँदो किन्न मानिस यहाँ आउँछन् ।

मालेपाटन र ढोंडवेसीमा उखुका लागि उपयुक्त वातावरण रहेकाले यस क्षेत्रको करिब ५ सय रोपनीमा किसानले उखु खेती गर्दै आएका छन् । पछिल्लो समय यस क्षेत्रमा लगाउँदै आएको काठे र गिमरा जातको उखुको उत्पादन कम भएको छ । विभिन्न किसिमका रोगको प्रकोप भएकाले उत्पादन घटेको हो ।

तराईबाट ल्याएर मालेपाटन र ढोडवेंसीकै खुँदो भनी बजारमा बिक्री, वितरण हुँदा एकातिर किसान मर्कामा छन् भने अर्कातिर उखु गाउँको पहिचानमाथि नै प्रश्न उठेको छ

परम्परागत जातको उत्पादन घटेपछि सुधारिएको फुस्रे र कालो उखु यस क्षेत्रमा लगाउन थालिएको छ । यस क्षेत्रमा मकैको डोड जस्तै उखुका पनि लाक्रा हुने र पहिले राजा यसै क्षेत्र हँुदै काठमाडौ जाने क्रममा मकैको ढोडमा घोडा बाँधेर राखेकाले यसको नाम ढाेंडवेशी राखिएको स्थानीय भरतराज धमला सुनाउँछन् ।

Advertisement

उखु गाउँका रुपले चिनिएका ढोडवेशी र मालेपाटनमा सुरुमा काठे कोल थिए । त्यसपछि गोरुको प्रयोग गरी चल्ने कोल आए । पछिल्लो समय बिजुलीबाट चल्ने आधुनिक कोल आएकाले किसानलाई केही सहज भने भएको ढोडवेसी युवा क्लबका सचिव सन्दीप धमला बताउँछन् ।

खुदोका पारिखी यस क्षेत्रमा नै आएर कोलबाटै चाखेर लाने गर्दछन् । घर गाउँ र सहर बजारमा डोकोमा राखेर खुदो बेच्नेहरुले ढोडवेसीको खुदोे भन्दै तराईबाट ल्याईएको खुदो बेचिरहेका छन् । यस कारणले यहाँको खुदोको खपत कम भएको आम उखु किसानको गुनासो छ ।

उखु किसान घनश्याम धमलाले पसलमा यहाँ लोकल अर्गागिक खुदो पाइन्छ भन्ने बोर्ड राखेर खुदो बेच्न बाध्य भएको सुनाए । मालेपाटन क्षेत्रका केही व्यक्तिले नाफाका लागि तराईबाट सस्तोमा ड्रमका ड्रम खुदो ल्याएर बेच्न थालेपछि यस क्षेत्रका असली कृषक मर्कामा परेको उनी गुनासो गर्छन् ।

पोखरा ३२ को मालेपाटन कृषि सहकारीले केही जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको छ । त्यहाँबाट उत्पादन भएको खुँदो लेबलिङ गरी बजारमा लागे पनि तराईबाट आएको खुदोले यसलाई विस्थापित गरेको उखु किसानहरु बताउँछन् ।

खुदो उत्पादनमा ख्याति कमाएको ढोडवेशीका किसानका लागि राज्यले कुनै किसिमको सहुलियत दिएको छैन । बर्सेनि उखु खेती गर्ने किसान घटदै छन् भने राज्यले राम्रो बिउ, मलदेखि रोग निवारणमा सहजीकरण गरेको छैन ।

यो क्षेत्रलाई उखुको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने केही किसान बताउँछन् । यहाँ उत्पादन भएको खुदोलाई सरकारी निकायबाट नै बिक्री, वितरणको व्यवस्था मिलाउने हो भने किसानमा थप हौसला आउने उखु कृषक लालबहादुर भुजेल बताउँछन् ।

अघिल्ला वर्षमा यो क्षेत्रको खुँदोको माग अत्यधिक भएकाले पुर्‍याउनै सकिएको थिएन । यो वर्ष भने नवलपरासीको खुदो ल्याएर ढोडवेसीको नाममा बेचिदिँदा यहाँको खुदो बिक्री नभएको आर्का उखु किसान मोहनबहादुर धमला बताउँछन् ।

यहाँ उत्पादन भएको खुदो प्रति माना २ सय रुपैयाँमा बिक्री हुन्छ । बजारमा ढोडवेसीको खुदोको नाममा १ सय ५० रुपैयाँ बेचेको पाइएको पोखरा ३२ की पूर्व जनप्रतिनिधि विष्णु धमलाले सुनाइन् । स्थानीय उत्पादनका नाममा बाहिरका सामान बेच्दा किसान विस्थापित हुने चिन्ता उनले सुनाइन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया