‘सामूहिक लगानीमा व्यवसाय गरौं’

पोखरा ।
नेपाल चेम्बर अफ कमर्सले अहिलेको विषम परिस्थितिमा व्यक्तिगत तथा एकल भन्दा समूहगत तथा संस्थागत रुपमा व्यवसाय गर्न मातहतका चेम्बरहरुलाई निर्देशन गरेको छ । वर्तमान कठिन अवस्थामा बैंकबाट ऋण लिनुभन्दा आआफैंले बीऊ पुँजी जुटाएर सामूहिक रुपमा लगानी गर्न संस्थाका अध्यक्ष राजेन्द्र मल्लले निर्देशन दिए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष मल्लले बीउ पुँजी संकलन गरेर समूहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकलभन्दा सामूहिक रुपमा व्यवसायमा जाँदा जोखिम कम हुने तर्क गरे ।
‘सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा कम्पनी खोलेर काम प्रभावकारी ढंगले काम गर्न सकिन्छ,’ अध्यक्ष मल्लले भने, ‘व्यक्तिले खोलेका होटल तथा व्यवसायभन्दा चेम्बरले सामूहिक तथा संस्थागत रुपमा गरेको कामले विश्वव्यापी रुपमा प्रभाव पर्न सक्छ । बढी विश्वसनीय र भरपर्दो भएकाले बजारीकरण गर्न सहज हुन्छ ।’ उनले स्थानीय संस्कृतिको प्रवद्र्धन र सामूहिक उत्पादन जानु आजको आवश्यकता भएको उल्लेख गरे ।
अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले विदेशबाट सामान ल्याएर बेच्ने सजिलो व्यवसाय गर्न भन्दा पनि स्थानीय स्रोत र साधनमा आधारित उद्योग खोल्न आग्रह गरे ।
उनले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिँदै अध्यक्ष मल्लले बीऊ पुँजी राखेर काम थाल्न अनुरोध गरे । उनले स्थायीत्वका हिसाबले संघ, प्रदेश भन्दा स्थानीय सरकार बढी भरपर्दो भएकाले समन्वय र सहकार्यमा जोड दिए ।
संस्थाका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले निजी क्षेत्रका संघ, संस्था एकापसमा प्रतिस्पर्धी नभएर साझेदार भएको उल्लेख गरे । उनले उद्योगी व्यवसायीका एजेन्डामा निजी क्षेत्र एक ठाउँमा उभिने बताए ।
साधारण सभामा उत्कृष्ट कार्यसम्पादन गर्ने उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फको उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमप्रसाद सुवेदी, महासचिव नवराज आचार्य, सचिव विष्णुप्रसाद बास्तोला, कार्यवहाक कोषाध्यक्ष कल्पना खतिवडा तिमिल्सिना, सचिवालय सदस्य गोकर्ण अधिकारी र कार्यसमिति सदस्य सुवास सुवेदीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
साधारण सभाले संस्थाका महासचिव नवराज आचार्यले पेश गरेको प्रगति प्रतिवेदन, कार्यवहाक अध्यक्ष कल्पना खतिवडा तिमिल्सिनाको आर्थिक प्रतिवेदनको अलवा लेखा परीक्षण प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष नेपाली, वस्तुगततर्फका उपाध्यक्ष बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष सुवेदी, महासचिव नवराज आचार्य, संस्थाका सल्लाहकार डा नन्दु श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, कपडा व्यवसायी एशोसियसन कास्की अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डे लगायतले उद्योगी, व्यवसायीका समस्याका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया