संक्रान्ति मान्न १० महिने शिशुसहित आएका थिए डाक्टर दम्पती

पोखरा ।
डा सुशील श्रेष्ठलाई माघे संक्रान्ति पर्व परिवारसँगै बसेर मनाउने इच्छा थियो । झन् घरमा आमाबाबाले पनि चाडसँगै मनाउने भनिरहेका थिए । त्यही भएर सुशीलले आइतबार माघे संक्रान्तिका दिन पोखरा आउन बिहीबारै अस्पतालमा बिदाको फारम भरे । सहकर्मीहरुसँग भन्दै थिए—छोरा सानै छ, बसमा जान्नँ, जहाजमै जान्छु ।
सुशील चिकित्सक जीवनसाथी र १० महिने सन्तानसँगै आइतबार यती एयरलाइन्सको जहाजमा पोखरा आउँदै थिए । आइतबार उनीहरुसहित सवार जहाज त्यही जहाज पोखरा आइसकेर पनि सुरक्षित अवतरण हुनै पाएन । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज पुरानो एयरपोर्टको आकाश पुग्नै लाग्दा सेती नदीको खोंचमा झर्यो ।
चालक दलका ४ सहित ७२ जना सवार जहाज दुर्घटनाले ठूलो शोक निम्त्यायो । जहाज दुर्घटनाको खबर सुनेर सुशीलका बुवा मदनकाजी घटनास्थल जाँदै थिए । भिड जम्मा भइसकेको थियो । घटनास्थलसम्मै गाडी लैजान सकेनन् । वरै राखेर हिँड्न थाले । बाटैमा अशुभमात्रै सुने । मन थाम्न सकेनन् । चक्कर लाग्यो । ढल्लान् जस्तो भए । चिच्याउँदै पानी मागे ।
उनलाई चिनिरहेका पत्रकार सुनील पाण्डेले नजिकैको सार्वजनिक धाराका पानी लगिदिए । मदन सम्हालिन सकेनन् । सुनीलले भने घाइतेहरुलाई हस्पिटल लगिएको छ रे भनेर सम्झाउने प्रयत्न गरे । मदन झन् टाउको ठोक्न थाले, चक्कर लागेर ढल्न लागे । सुनीलले उनको टाउको काँधमा राखेर विस्तारै उनकै गाडी भएतिर फर्काए । आफन्तको जिम्मा लगाएर घर पठाए ।
माघे संक्रान्ति परिवारसँग मनाउने भनेरै मदनले छोराबुहारीलाई भनेका थिए । छोरा सुशीलले पनि आमाबाबा पनि बिरामी हुनुहुन्छ भनेर अफिसमा १ साताकै छुट्टी मागेका थिए । उनी काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए । उनका सहकर्मी डा ज्ञानेन्द्र शाह शुक्रबार र शनिबार सँगसँगै एउटा सेमिनारमा सुशीलसँग रहेको बताउँछन् । भन्छन्, ‘एक साता घर (पोखरा) जाने भनेर उत्साहित थियो ।’
आफूहरु ट्रमा सेन्टरको बहिरंग र शल्यक्रियामा सधैं सँगै हुने गरेको शाहले सुनाए । ‘हामीसँगै काम गथ्र्यौं, म नहुँदा मेरो काम पनि उसले गरिदिन्थ्यो, ऊ नहुँदा म गरिदिन्थें,’ उनले सम्झिए । तर आइतबारको सुशील सवार जहाज दुर्घटनामा परेको पत्यारै नलागेको शाह सुनाउँदै थिए । ‘जहाजमै जान्छु भने पनि ऊ चढेकै जहाज होला भन्ने लाग्दै लागेन, पछि पो नामै आयो,’ उनले भने ।
अर्का सहकर्मी डा सन्तोष पौडेल सुशीललाई मिलनसार भाइका रुपमा सम्झन्छन् । भन्छन्, ‘मिलेर काम गर्ने र साह्रै ज्ञानी मान्छे हो,’ उनले भने । पौडेल पनि पोखराकै हुँदा सुशीलसँग निकटता थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया