पोखरा घुम्न आएका कोरियन बाबुछोराको निधन

समाधान संवाददाता २०७९ माघ २ गते ११:३७

पोखरा ।
आइतबार बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो । यो विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए । ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा २ दक्षिण कोरियन नागरिकसमेत थिए ।

Advertisement

१४ वर्षका बालक यु स्याङ्याङ र ४५ वर्षका उनका बुवा यु योङचोएल आइतबार बिहानमात्रै नेपाल आएका थिए । बिहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियन बाबुछोरा त्यसलगत्तै पोखरा उडेका थिए ।

१०ः३२ बजे यती एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू गन्तव्य नपुग्दै सेतीको खोंचमा विलय भए । १०ः ५० मा सेती खोंचबाट टावरसँग सम्पर्कमा आएको विमान त्यसपछि सम्पर्कविच्छेद भएको थियो । लगत्तै ठूलो आवाजसहित विमान खोंचमा खस्यो । विमान दुर्घटनामा परेपछि आगोको मुस्लो देखियो ।

उनीहरू पर्यटकीय सहर पोखरासँगै अन्य क्षेत्रमा घुमघामको योजना बनाएर नेपाल आएका थिए । उनीहरुसँगै विमानमा ५ भारतीय, ४ रसियन, १ अर्जेन्टेनी, १ अस्ट्रेलियन, १ आइरिस र १ फ्रान्सेली नागरिकसवार थिए।
दुर्घटनालगत्तै उद्धारकार्य थालिए पनि दुर्घटनास्थल खोंच भएकाले ढिलो गरीमात्र उद्धार कार्य भयो । दुर्घटनामा भेटिएकाहरुको शव गण्डकी अस्पतालमा पुर्‍याइएको छ । केहीको शव पहिचान भएको छ भने धेरै जसोको अनुहार चिन्न सकिने अवस्था छैन ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ अर्थात पुस १७ गतेमात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । विमानस्थलको उद्घाटनसँगै अहिले पर्यटकीय चहलपहलको सिजन भएकाले पनि पोखरा जानेको संख्या बढ्दै गएको छ । यो दुर्घटनाले फेरि नेपालको हवाइ यात्रा सुरक्षित नभएको सन्देश दिएको हवाइ विज्ञहरू बताउँछन् ।

Advertisement

विमानस्थल उद्घाटनअघि आइतबार दुर्घटनामा परेकै जहाजले डेमो उडान गरेको थियो । उही पाइलट केसीले विमान उडाएका थिए ।

तपाईको प्रतिक्रिया