पोखरा महोत्सव आजदेखि चल्ने

पोखरा ।
पोखरा महोत्सवमा सोमबारदेखि पूर्व निर्धारित कार्यक्रम निरन्तर हुने भएका छन् । महोत्सवको पाँचौं दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउँदै सम्पूर्ण गतिविधि रोकिएको थियो । सोमबार भने पूर्वनिर्धारित तालिका अनुसार नै महोत्सव सञ्चालन हुने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महत्वपूर्ण पर्व माघीक दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहँदा रहँदै पनि पोखरामा हवाइ दुर्घटना भएकाले त्यसको खोजतलासमा सम्पूर्ण महानगर लागिपरिरहदा महोत्सव स्थगित गर्नुपरेकोमा आयोजक स्तब्ध बनेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।
सोमबारदेखि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुँदै छ । प्रतियोगिता अन्तर्गत सोमबार ज्ञान गंगा विद्यापीठ, श्री जनबल सेकेन्डरी स्कुल, न्यु ग्यालेक्सी सेकेन्डरी स्कुल र भ्यु प्वाइन्ट बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । महोत्सवको स्टेजमा सोमबार नेवारी संस्कृति झल्कने कुमारी नृत्यको प्रस्तुति रहनेछ ।
लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरि ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नवीना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुति रहनेछ ।
तपाईको प्रतिक्रिया