धारामा पानी आएन…!

मीना रानाभाट भण्डारी २०७९ माघ २ गते १२:१६

‘मम्मी तपाइँको बर्थप्लेस कहाँ अरे ?,’ छोरी सोध्छे ।
‘तनहूँको वहपुर !’
‘ड्याडीको ?’
‘इलाम !’
‘मेरो ?’
‘पोखरा, गण्डकी अस्पताल !’
६ वर्षे मेरी छोरी अचम्भित जस्तै भएर भन्छे, ‘हाम्रो भेट कसरी भयो होला हगि….!’

Advertisement

हामी सबै वाल्यावस्थामा बादल, जून, तारा देखेर अनेक काल्पनिकीमा डुब्दै हुर्केका हुन्छौँ । असिना टिप्दाटिप्दै चट्याङ्ले सातो लैजान्थ्यो । फूल, वन, नदी, चरा सधैँ प्रिय लाग्छ । काग–कोइलीलाई नजिस्क्याई हुर्केका मान्छे विरलै होलान् । विलियम वड्र्सवर्थ स्कुलै छाडेर कोइली जिस्क्याउँदै हिँड्थे अरे ।

९ मा पढ्दा ‘रेन्बो’ घोक्न पाएर म धन्य भएकी छु । बच्चाहरु ‘फादर अफ म्यान्’ भन्ने लाग्छ । वाराही स्कुलमा परशुराम कोइराला सरले ‘काल महिमा’ प्रभावशाली ढंगले पढाउनु भयो । मृत्युको समाचार सुन्दा ‘भाका, भूल दया…!’ टाउकोमा तरङ्गित हुन्छ । दुइ महिना बित्यो, हिजो जस्तो लाग्छ; आफ्नै स्कूलका ११ का प्रतिभाशाली विद्यार्थी सचिन राईलाई नदीपुर चोकमा ट्रिपरले किचिक्कै पारेछ ।

मातापिताका पीडालाई कसरी समानानुभूति गर्ने, किचनमा काम गदागर्दै पनि मन विह्वल हुन्छ । काल र भवितव्यसँगै आत्महत्याका घटना बढेका छन् । नेताका लूटले जनसामान्यमा जीवनप्रतिको मोह घटेको छ । ठूला नेता–नेतृ र खाते–खातेनीको जीवनमा तात्विक अन्तर पाइँदैन, आ–आफ्ना हैसियतको मोजमस्तीमा दुवै थरि रमाएका छन् ।

खानेपानी खान लायक नहुँदा जारको खपत बढाइन्छ । म संविधानको धारा केलाउँछु । नेपाली कांग्रेसले प्रतिपक्षी भूमिका गुमाएझैँ लाग्छ ।

Advertisement

हामी साना जागिरेलाई शनिबारको बिदा साह्रै प्रिय हुन्छ । यसपालि पुसको अन्तिम शनिबारको दुई दिन अगाडि नै बिदा पाइयो । पृथ्वी जयन्तीको कार्यक्रम हेर्न गएँ । पार्वती पौडेलले निकै राम्ररी सभा सञ्चालन गरिन् । डा. दिलबहादुर क्षेत्रीले चर्को स्वरमा प्रधानमन्त्री प्रचण्डलाई खबरदारी गरे ।

नवनियुक्त मन्त्री पञ्चराम गुरुङले आफू पनि जनजातिकै छोरो भएको तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक ढाल्नु उचित नभएको भने । लखन थापाको शालिक अन्यत्र व्यवस्थापन गरेर त्यहाँ पृथ्वीनारायण शाहकै शालिक स्थापित गर्नुपर्नेमा मन्त्रीले जोड दिए । विष्णु अल्पविरामद्वारा वाचित एउटा मुक्तक डायरीमा टिपेँ:
राष्ट्र एकीकरण कर्ताको सालिक ढाल्नमै
समय भुक्तान गर्‍यौ
तिमीलाई लाग्दो हो, आफ्नो जातीयताको
सम्मान गर्‍यौ
पृथ्वीचोक सबै जनजिब्रोमा झुण्डिएको बिस्र्यौ ?
अनुचित कामले महान लखन थापाकै
अपमान गर्‍यौ

हो, माओवादी दुराग्रहले सहिदको अपमान गरिएको छ । जातीय द्वेश फैलाउन खोजिएको छ । अमर चित्रकारको अमर कृति खरानी पारेर त्यसकै व्यापारमा क्रान्तिकारी रमाएछन् । कार्यक्रमको तरङ्गले आफू पनि केही लेखौँ–लेखौँ सोँच्दै थिएँ, मसान्तीको शनिबार आयो । माघीका लागि घरमा तरुल, चाकू र घिउ ल्याइयो ।

फुलौरो र उफ्रौलो टाउकामा उफ्रिए । बोधबिक्रम अधिकारीले प्रसिद्ध नेपाली दन्त्य कथाहरु लेखेका रहेछन् । लाटोबुङ्गोको कथा व्यापक जनतामा फैलिएको रहेछ । मेरा मावली हजुरबाले काखैमा राखेर मलाई धेरै चोटि यो कथा सुनाउनुभयो । लाटोबुङ्गो फुलौरो भन्न नजानेर उफ्रौलो भन्थ्यो ।

कमलको ६ महिने छोरो नित्यमलाई चाकू चटाइदिएँ । ऊ आमाबाट फुत्केर हाम फाल्दै आउन खोज्यो । अति बाठो छ, घुमाउन लाने मान्छे अलग्गै चिन्छ । घुमाउन नलानेसँग जाँदैन, बटारिन्छ । उसलाई भेटाउन ल्याइएको ३ वर्षे सोनिक्सले एकै दिनमा घरका सबैलाई अविस्मरणीय छाप छाडेर गयो । जसलाई पनि साइनो लगाएर चिनीभन्दा गुलियो बोल्थ्यो ।

प्रतिभा बोर्डिङका १ कक्षाका विद्यार्थी समीप उदास झनै युनिक छन् । सर, म्याम् भन्दै हात जोडेर नजिकै निहुरेर गुडमर्निङ्, गुड आफ्टनुन् भन्छन् । ठूलै मान्छेको पारामा सञ्चबिसञ्च सोध्छन् । प्रीन्सा र सुभान असल आनीबानीका, पढ्नमा पनि तेज छन् । सुप्रिम पण्डित चिल्लो पातको लक्षण देखाउँछिन् । घरमा ख्याल गर्ने अविभावकका नानीबाबु अगाडि नै देखिन्छन् ।

‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परिआएको बेलामा पुर्पुरो सेक्ने ….!’ ४ वर्षे सार्थक मेरी आमालाई लट्ठी ताक्दै तर्साउँछ, ‘बजाइदिऊँ ?’ ‘ल ल बजा, मेरो घरमा बस्ने मैलाई बजाउने ?’ ‘तपाइँको घरमा पैसा तिरेर बसेका छौँ, मलाई किन गाली गर्नुहुन्छ ?’ सार्थक क्रान्तिकारी नै हुन्छ होला ।

नेपालका क्रान्तिकारीले सबथोक उल्टो गरेछन् । गौरवशाली क्रान्तिकारी पार्टीका अध्यक्ष प्रधानमन्त्री छन् । परिवर्तनलाई संस्थागत गरेर जनताको समृद्धिको आकांक्षालाई प्रचण्डले थेग्नै सकेनन् । लोकतन्त्रका पर्याय हौँ भन्ने कांग्रेसीहरु प्रतिपक्षमा बस्नै मान्दैनन्, प्रतिपक्षी हौँ भन्छन् । ‘यो प्रतिपक्ष भयो, तिमी त कानुन पढेकी ?’ साथीहरु कुरा निकाल्छन् ।

सँविधानका सम्बद्ध धारा पढेर म झनै अन्यौलग्रस्त हुन्छु । भीमार्जुन आचार्य, मीरा वैद्यहरु नेपाली कांग्रेस प्रतिपक्ष नभएको बताउँछन् । गगन थापा विश्वासको मत दिइँदैन, प्रमुख प्रतिपक्षमा बसिन्छ भन्दै थिए । नेपाली काङ्ग्रेसले सबैलाई अचम्भित पार्दै सरकारलाई बिश्वासको मत दियो ।

देउवाजी सत्तापक्ष र प्रतिपक्ष दुवै भाग सोहोर्न खोज्दै छन् । पुस १० मै नाफा खाने चुत्को साउँ पनि फुत्क्योमा कांग्रेस पुगेको हो । केपी ओलीले भनेझैँ यसपालि पनि जालमा माछा पर्न गाह्राे छ तर माधव नेपाल हान्ने गोरुझैँ केपीलाई फ्वाँ… फ्वाँ… गर्दै छन् ।

पछाडि लुकेका राम भएकैले सुग्रीवले बलवान बालीलाई हाँक दिएको बुझ्न सकिन्छ । अनि ? अनि मुलुकमा अरु भयावहता बढ्ने विश्लेषण सुनाइँदैछ । हामी आफ्नो रोजीरोटी आफै कमाएर खान पाइने वातावरण खोज्छौँ । उत्तरको सहयोगमा निर्मित पोखरा विमानस्थल दक्षिणको असहयोगमा नचल्ने भनिँदैछ । युद्ध निम्तिने खतरा औँल्याइँदैछ ।

‘धारामा पानी आएन केटी, बर्वाद भो….!’ आमा आतस देखाउनु हुन्छ । काठमाण्डूका धाराबाट सुन आउँछ भन्छन् । पोखराका धारामा स्वाँ–स्वाँ हावा आउँछ । ठाउँ ठाउँमा पाइप फुट्दा हप्तौँ मर्मत गरिँदैन र धारामा पानी आउँदैन । खानेपानी खान लायक नहुँदा जारको खपत बढाइन्छ । म संविधानको धारा केलाउँछु ।

नेपाली कांग्रेसले प्रतिपक्षी भूमिका गुमाएझैँ लाग्छ । युटूबमा कानुनका जानकारहरु नेतागण संविधान च्यात्ने धूनमा लागेको बताउँछन् । कुनै धाराबाट पानी आउँदैन । अझै पनि ७६ (२) भत्काउनै कांग्रेस उद्यत छ, धारा ७६ (३) निचोर्न उसले भरिएको गिलासमा पानी खन्यायो ।

तपाईको प्रतिक्रिया