
जमुना वर्षा शर्मा
पोखरा ।
आइतबार साँझ ६:३० मा पोखरा ११ फुलबारी स्थित यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको निवासमा पुग्दा निकै सन्नाटा छाएको थियो । भित्ताभरी मुस्कुराइरहेका तस्बिरले उनको हँसिलो र मिसाजिलो पनको स्मरण गराइरहेको थियो ।
आफन्तजन सबै शोकमा थिए । आफन्तहरुको बीचमा रहेकी पौडेल पत्नी प्रतिभा पौडेल भित्तामा रहेको श्रीमानको तस्बिरलाई एकटक हेरिरहेकी थिइन् । ‘यो मन्दिरको भगवान खै ? छिटो आउनुन, म घण्टी बजाउँछु ।’ छेऊमै पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेको श्रीमानको तस्बिरलाई हेरेर बरबराइरहेकी थिइन् पत्नी प्रतिभा ।
प्रतिभालाई सम्हाल्नेहरु पनि आफै विक्षिप्त बनेको दृश्य झनै निकै कारुणीक देखिन्थ्यो । उनले हेरिरहेको तस्बिरमा इन्टरनेटको तारले केही छेकिएको थियो । तार हटाउन लगाइन् र त्यही तस्बिर हेरेर उनले भनिन् ‘कस्तो मान्छे होला, अहिलेसम्म नआउने, विरामी हुँदा त आउनु पर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको’ अर्धचेत अवस्थामा रहेकी प्रतिभा फेरी एकटक श्रीमानको तस्बिर हेरेर बर्बराइन् । उक्त वाक्यले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो ।
विमान दुर्घटनामा श्रीमानको नाम देखेर अस्पताल पुगेकी प्रतिभा बेहोस भएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गरेर घर ल्याइएको थियो । छेऊमा बहिनीलाई सम्हालेकी पौडेलकी दिदीसासु अजिता अधिकारीका अनुसार आइतबार बिहान प्रतिभाले श्रीमानलाई ‘गुड मनिङ बुढा’ भनेर म्यासेज गरेकी थिइन् । उताबाट त्रिभुवनले ‘गुड मनिङ बुढी’ भनेर रिप्लाइ पठाए ।
प्रतिभाले माघेसंक्रातिको शुभकामना कार्ड पठाइन्, पौडेलले त्यसलाई ‘लभ रियाक्ट’ गरेर छोडे । पत्नि प्रतिभालाई आज विहान श्रीमान आउने कुराको जानकारी समेत थिएन । ‘माघको ५/६ गते प्रतिभालाई नै ज्वाइँले काठमाडौँ बोलाउनु भएको रहेछ ,माघ ९ गते एनिभर्सरी हो, सायद उतै मनाउने सोच पो थियो कि, तर किन फेरी एक्कासी जानकारी नदिइ पोखरा आउनुभयो, हामी निकै सोचमग्न र पीडादायी अवस्थामा छौ ।’ दिदी सासु अधिकारीले भनिन् ।
त्यहि माथिको तलामा ६२ वर्षीय आमा पदमकुमारी पाध्या रुदाँरुदै आँशु सकिएर टोलाइरहेकी थिइन् । धेरै बेर पछि बोलिन् ‘कालले त मलाई लानुपथ्र्यो , अब जाने बेला त मेरो थियो नी, किन उसलाई लगेउ भगवान’ लामो सुस्केरामा आफूलाई सम्हाल्ने प्रयास गरिन् । केही दिन अघि पुम्दिभुम्दि छोरीको घरमा गएकी आमालाई समेत छोरा काठमाडौँ गएको र आउने कुरा थाहा रहेनछ । ‘सधै त कतै जाँदा भन्थ्यो, यसपालि त खबर पनि गरेन, कति निर्दयी बनेर गयो ।’
पौडेलसँग शनिबार साँझ मात्र म्यासेन्जरमा कुराकानी गरेका पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार पौडेल प्रेस सेन्टरको पदाधिकारी बैठकमा सहभागि हुन शुक्रबार काठमाडौँ गएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतबार बिहान भेट्ने कार्यक्रम रहेको र सोहि दिन दिउँसो २ बजे पोखरा जाने जानकारी गराएका थिए ।
‘पोखरामा गएर भेट्ने भनेर छुट्टिएका थियौ, सायद प्रधानमन्त्रीसँगको भेटघाटको समय नमिलेका कारण बिहान पोखरा हिडेको होला, माघेसंक्रान्तिको दिन परिवारको साथमा मनाउने रहर पनि होला तर सधैका लागि प्रिय भाइ अस्तायो ।’ ज्ञवालीले भने, ‘यो सत्य हो तर स्विकार्न निकै गाह्रो भएको छ ।’
सानै उमेरदेखि संघर्ष गरेर आफ्नो बेग्लै पहिचान बनाउने सफल पौडेल १५/ १६ वर्षको उमेरमानै पत्रकारितामा आएको पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतिक) बताउछन् । ‘मैले जनप्रियमा ७ कक्षा देखि १० सम्म पढाएँ, निकै टाठो थियो, मेहनती पनि उस्तै, माओवादी प्रति झुकाव राख्ने भएकाले सेना प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यस अघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ ।’
छोटो समयमा निकै प्रगती गरेर आफूलाई स्थापित गर्न सफल पौडेल सहयोगी भावान भएको र परिआउँदा सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताए । आफुलाई पनि बेला बेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, बेला बेला भेट्ने आउने गरेको स्मरण गर्दै पौडेलमा अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार रहेको बताए । हिजोको घटनाले आफूलाई निकै मर्माहत बनाएको साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको बताए ।
३७ वर्षीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, महासंघ कास्कीका पूर्व उपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकको रुपमा समेत काम गरेका थिए ।
२०७५ सालमा विवाह गरेका पौडेलको आमा, श्रीमती र एक छोरा छन् । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकका सञ्चालक समेत हुन् । रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिका लगायतका संचार माध्यममा उनले काम गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोष्टमार्टम भवनमा ५३ नम्बरमा रहेको शवको परिचय पत्रको आधारमा सनाखत भएको छ । पत्रकार पौडेलको सनाखन भएसँगै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस यूनियन, प्रेस चौतारी लगायतका विभिन्न संघ संस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् ।
सोमबार पत्रकार महासंघ कास्कीमा पौडेलेको शवल्याएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

जमुना वर्षा शर्मा
डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन्









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया