छोराबुहारी अस्ट्रेलिया पठाएर फर्किदा…

समाधान संवाददाता २०७९ माघ ३ गते ११:४२

पोखरा ।
अस्ट्रेलिया जान लागेका छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट बिदाइ गरेर पोखरा फर्किन लागेकी बागलुङ नगरपालिका १ कि सीता खड्का घर पुग्न पाइनन् । पोखरामा आइतबार बिहान ज्यान गुमाएका ७२ जनासँगै सीता पनि यो संसारबाट सधैका लागि बिदा भएकी हुन् ।

Advertisement

उनले शनिबार राति खुसीयालीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट बिदाइ गरी अस्ट्रेलिया पठाएकी थिइन् । छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि अहिले सिंगो बागलुङ नै शोकमा डुबेको छ । सीताका छोरा बुहारी आशीष खड्का र अन्सु खड्काको गएको मंसिर २२ गते विवाह भएको थियो ।

शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलिया उडाएकी उनी सो रात काठमाडौँमा नै बसेर आइतबार बिहानै घर फर्किदै थिइन् । छोरा बुहारी अस्ट्रेलिया पुगिसकेका नपुग्ने सीता भने अकल्पनीय घटनाको शिकार बनेकी छन् ।

यसैबीच, सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको एआरटी ७२ विमानको भग्नावशेषमा ब्ल्याक बक्स फेला परेको छ । ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

विमानको पछिल्लो भाग सोमबार भेटिएको हो । चालक दलका सदस्य र यात्रुसहित ७२ जना सवार यति एयरलाइन्सको जहाज काठमाडौंबाट पोखराका लागि आइतबार बिहान उडेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया