माछापुच्छ्रेमा प्रदेश स्तरीय भलिबल, प्रथम पुरस्कार १ लाख ११ हजार

समाधान संवाददाता २०७९ माघ ३ गते ११:५०

पोखरा ।
युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे ८ ल्वाङ्घलेल कास्कीले गण्डकी प्रदेश अन्तर्गतको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको छ ।

Advertisement

३ वर्षदेखि माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्तरीय वडाध्यक्ष रनिङ सिल्ड भलिबल प्रतियोगिता गर्दै आएको समितिले वडा नम्बर ८ को अन्तरगाउँ तथा टोल स्तरीय महिला भलिबल प्रतियोगितासमेत गर्न लागेको अध्यक्ष गणेश घिमिरेले जानकारी दिए ।

उनले खेलकुद, कला, संस्कृति, र देश विकासमा सकारात्मक सोच र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले गर्न लागेको पुरुष भलिबल प्रतियोगितामा प्रदेशका सबै ८५ पालिकाका ७ सय ५९ वडाका खेलाडीले भाग लिन पाउने बताए ।

आम नागरिकबीच परस्पर मेलमिलाप र आपसी सम्बन्धलाई खेलकुद र संस्कृतिक माध्यमबाट सुदृढ गर्न आयोजना गरेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५, र २२ हजार २ सय २२ रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष घिमिरेले उल्लेख गरे ।

महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुने टिमलाई ८ हजार नगद, रनिङ सिल्ड मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेलकुद संयोजक पूर्णबहादुर गुरुङ (जापान)ले जानकारी दिए ।

Advertisement

उनले प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर सेटर र प्रशिक्षकलाई समेत पुरस्कृत गरिने बताए । अध्यक्ष घिमिरेले नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल खेललाई नेपाल सरकारले मान्यता दिएपछि सहरदेखि गाउँसम्म सो खेलको विकास भइरहेको उल्लेख गरे ।

‘राष्ट्रिय खेल भलिबलको समुचित विकास गर्न आवश्यक छ,’ अध्यक्ष घिमिरेले भने, ‘खेलाडीलाई पेशागत रुपमा विकास तथा भलिबल खेलको संस्थागत विकासमा सहयोग पुग्नेछ ।’ अध्यक्ष घिमिरेले खेलकुदमार्फत सबल, अनुशासित खेलाडी उत्पादनमा सहयोग पुग्ने दाबी गरे ।

उनले भलिबल प्रतियेगिताको अलवा स्थानीय समुदायको भेषभूषा, रीतिरिवाज सांस्कृतिक एवं हास्य प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिए । उनले विविध खेलकुद लगायत भजन चुड्का, ट्हाेटे, लाखे, रत्यौली रोधीं नाच प्रस्तुतिले स्थानीय लोककला संस्कृतिको प्रवद्र्धन गर्न सहयोग पुग्ने दाबी गरे ।

प्रतियोगिता लगायत सबै कार्यक्रमका लागि ७ लाख ५० हजार आम्दानी र ७ लाख ५० हजार ६ सय १० खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता ठाँटी ल्वाङ घलेलमा हुनेछ । अध्यक्ष घिमिरेले प्रतियोगिता गर्न ७३ सदस्यीय मुल आयोजक समिति र २४ उपसमिति गठन गरेको जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङले सबै खेलकुदका गतिविधिलाई पर्यटनसँग जोड्ने बताए । उनले पोखराको उत्तरी भेगमा रहेको वडामा घरबास (होमस्टे)सेवा, मर्दी हिमाल पदमार्ग, चिया बगान, क्यानोनिङ, मर्दी खोला फिसिङ (असला) लगायतका क्षेत्र पर्यटनको मुख्य आधार भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया