सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्– बेला बेलामा झस्कन्छु


पोखरा ।
आइतबार बिहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् ।
स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् । संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे ।
एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुंगा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । ‘ढुंगा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ,’ उनले भने, ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।’
माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए । सेती खोँचमा आफूमात्रै नभई अरु ४ जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए । ‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ’ उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुंगा शरीरमा लाग्दा करङमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए ।
नदीको दुवैतर्फ रहेका घना बस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका बस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवं सिर्जना टोल विकास संस्थाका सचिव ईन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुने नै छ ।’
सरकारले दुर्घटना जाँचका लागि ५ सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको बिहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना हुनुभन्दा २ घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् ।
उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाजसँगै क्याबिन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया