बेगनासताल प्रवद्र्धन गर्न अभियान

लेखनाथ ।
बेगनासतालको पर्यटन प्रर्वद्धन एवं लेखनाथ क्षेत्रको विकासमा सघाउने उद्देश्यका साथ हाम्रो बेगनासताल राम्रो बेगनासताल अभियान सुरु गरिएको छ । समग्र लेखनाथवासीलाई एकतावद्ध गरी बेगनासतालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउनु अभियान थालिएको हो ।
विकासका हिसाबले पछाडि परेका ठाउँहरुबारे राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले दोश्रो संस्करणका रुपमा अभियान सञ्चालन गरिएको अभियानका संयोजक नवराज ओझाले बताए । ‘हामी र हाम्रो शान, बेगनास हाम्रो अभियान’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको कार्यक्रमअघि तालचोकबाट विभिन्न नारासहितका प्ले कार्ड बोकेको र्याली निकालिएको थियो ।
उक्त र्याली शिशुवा, मोहोरिया बेगनासताल बसपार्क हुँदै बेगनासताल ड्यामसाइडमा पुगेर कार्यक्रममा परिणत भएको थियो । स्वतस्फूर्त रुपमा र्यालीका सहभागीले पर्यटक आए, बाटो खोई, ताल विकासको बाधक होइन, पर्यटन प्रर्वद्धनमा युवाको चासो, युवाहरुको आव्ह्वान वृहत बेगनासतालको पहिचान लगायतका नारा लेखिएका प्ले कार्ड प्रर्दशन गरेका थिए ।
पोखरा महानगरपालिकामा गाभिएको लेखनाथलाई फेरि अलग नगरपालिका कायम गराउने विषयमा पनि आवाज उठाइने
बेगनासताल सबै लेखनाथबासीको अमूल्य पर्यटकीय निधि भएको र यसको विकासका लागि पछिल्ला दिनहरुमा विभिन्न स्थानीय सामाजिक संघ, संस्थाका गतिविधि अत्यन्तै न्यून हुने गरेकाले आगामी दिनमा अझै वृहत भूगोल र सहभागिता हुने गरी सबैको साझा संस्थाको रुपमा स्थापित गरी पर्यटन प्रर्वद्धन र विकासका क्षेत्रमा भूमिका खेल्ने योजना रहेको अभियानका सहसंयोजक बुद्धि सुवेदीले जानकारी दिए ।
अभियानका सचिव प्रकाश लामिछानेले सबैलाई एकतावद्ध गर्दै पर्यटन प्रर्वद्धनका लागि विभिन्न गतिविधि गर्ने आफूहरुको लक्ष्य भएको सुनाए । सिंगो पोखरा महानगरपालिकामा गाभिएको लेखनाथलाई फेरि अलग नगरपालिका कायम गराउने विषयमा पनि आवाज उठाइने उनले सुनाए ।
उक्त अवसरमा उपप्राध्यापक सुरेन्द्रबाबु तिवारीले बेगनासतालको प्रर्वद्धनका लागि सहकारी मोडल वा गैरनाफामूलक कम्पनीको अवधारण बमोजिम विभिन्न पर्यटकीय पूर्वाधारको विकास गर्न सकिने बताएका थिए । उनले बेगनासतालसँगै लेखनाथका अन्य तालको जैविक विविधता संरक्षण गर्न, परियोजनागत रुपमा विभिन्न काम गर्न र त्यसका लागि लगाानीको वातावरण बनाउने साझा फोरमको रुपमा अभियानलाई अगाडि बढाइने बताए ।
कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै विभिन्न खेलसमेत खेलाइएको थियो । २०७७ साल फागुन २२ गते अभियानको स्थापना गरिएको भए पनि कोरोना महामारीका कारण कुनै पनि गतिविधिअघि बढ्न सकेका थिएनन् ।
तपाईको प्रतिक्रिया