काभ्रे गाउँ शोकमा

कृष्ण दवाडी २०७९ माघ ३ गते १३:१०

कास्की ।
काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को काभ्रे गाउँ शोकमा डुबेको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उनकी पत्नी सीताको निधनले गाउँ शोकमा डुबेको हो ।

Advertisement

बेलमान गत साउनमा मौसमी भिसामा बेलायत गएका थिए । उनी यही पुस २९ गते घर आउन काठमाडौँ आउने भएपछि श्रीमती सीता सोही दिन काठमाडौं पुगेकी थिइन् । उनीहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए ।

बेलमान दम्पतीले बिहान ११ः०० बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढेका थिए । वडाध्यक्ष आचार्यले दुर्घटनाको खबरलगत्तै गाउँ शोकमा डुबेको सुनाए । उनले भने, ‘बेलमान दम्पती गाउँमा सहयोगी हुनुहुन्थ्यो ।

उहाँहरू सवार विमान दुर्घटना भएको खबर गाउँमा फैलिएसँगै सबै शोकाकुल छन् ।’ बेलमान बेलायत जानुअघि गाउँमै रेस्टुरेन्ट सञ्चालन गर्थे । उनी विदेशिएपछि सीताले रेस्टुेरेन्ट सञ्चालन गर्दै आएकी थिइन् । बेलमानका बुबा ईन्द्रबहादुर गुरुङ नेपाली कांग्रेस वडाका पूर्वसभापति हुन् । गाउँमा उनको समाजसेवीको पहिचान छ ।

ईन्द्रबहादुरको परिवारमा परेको शोकले सबै दुःखित बनेको वडाध्यक्ष आचार्यले बताए । स्व गुरुङका २ छोरी र छोरा छन् । विमान दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका ७ का शिवकुमार गुरुङको पनि निधन भएको छ ।

Advertisement

काठमाडौँबाट पोखराका लागि उडेको यतीको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणको केही मिनेटमात्र बाँकी छँदा विमानस्थल नजिकै सेती नदी खोँचमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका ४ र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनाको उद्धार कार्य राति सोमबार पनि जारी छ । हालसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया