पाेखरा महोत्सवमा उवाथोक होमस्टेको निम्तो

पोखरा ।
तनहुको घिरिङ गाउँपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आएको छ ।
महोत्सव आयोजक युनाइटेड क्लबले ११ औं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको व्यवस्था गरेसँगै तनहुँको घिरिङ गाउँपालिका उवाथोकमा रहेको सामुदायिक होमस्टेको टोलीले महोत्सव स्थलमा स्टल बनाई महोत्सवमा आउने दर्शकलाई पाहुनाका रुपमा आफ्नो होमस्टेमा आउनका लागि आमन्त्रण गरेको हो ।
२०७५ देखि सञ्चालनमा आएको होमस्टेमा ३५ देखि ४० पाहुनालाई राख्न सकिने होमस्टेका सल्लाहकार मनबहादुर रानाले जानकारी दिए ।
१२ घरमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई कोदोको ढिँडो, मकैको च्याख्ला, स्थानीय गोफा खोलाको लोकल माछा, लोकल कुखुरा, लोकल कालो सुंगुरको परिकार, लोकल खसी, सिस्नुको परिकार, दूध, दही, मह, खुदो लगायतका परिकार दिइने गरिएको छ ।
होमस्टेमा हालसम्म विदशी र स्वदेशी गरी २ हजार ५ सयभन्दा बढी पर्यटक पुगिसकेका छन् । होमस्टेमा आउने पर्यटकले घिरिङकोट भ्यु टावरबाट कालीगण्डकीको फेरोसँगै पर्यटकीय सहर पोखरा, नवलपरासीको देवचुली वरचुली लगायतका मनोरम दृश्य हेर्ने गरेको होमस्टेका अध्यक्ष पूर्णबहादुर थापाले बताए ।
होमस्टेमा घरबास गर्ने पर्यटकले मगर संस्कृति झल्कने कौरा नाच, स्थानीय झ्याउरे र दोहोरीमा रमाइलो गर्न सक्ने थापाले बताए । महोत्सवमा उवाथोकसँगै लमजुङको पुरानोकोट होमस्टेको टोली छ । महोत्सवको छैठौ दिनसम्म आईपुग्दा महोत्सवमा दर्शकको सहभागितासमेत बढ्दै गएको छ ।
महोत्सवमा राखिएका स्टलमा व्यापारसमेत बढ्दै गएको महोत्स्व प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरीमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरि ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नवीना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुतिमा दर्शक रमाए । साँझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुति रह्यो ।
महोत्सवको सातौं दिन मंगलबार प्रिती आले, प्रजापति पराजुली, जीवन दाहाल, शिवहरि ढुंगाना, निश्चल दवाडी, मञ्जु विक, सरीता सारुमगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टमा झिल्के एन्ड द कम्पनीको प्रस्तुति रहने प्रचारप्रसार संयोजक सुनारले जानकारी दिए ।
तपाईको प्रतिक्रिया