
सञ्जय रानाभाट, पोखरा ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहअगाडि ३ दिनदेखिको भिडभाड मंगलबारबाट हटेको छ । आइतबारदेखिको त्यो भिडभाड मंगलबार बेलुकासम्म पातलियो । तर त्यो भिड हटे पनि अस्पतालको त्यो शव गृहमा अझै पनि ३ वटा शव बाँकी नै छन् ।
जसमध्ये एउटा शव यस्तो छ, जसको सनाखत भइसक्यो, तर आफन्तले तुरुन्तै लगेनन् । जब कि सोमबारसम्म अरु मृतकका आफन्तहरुको एउटै माग थियो–शव छिटो चाहियो । यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाका मृतकमध्ये ४८ शव परीक्षणका लागि मंगलबार काठमाडौं लगिएको छ । बाँकी आफन्तलाई बुझाइयो ।
३ वटामध्ये सीता गुरुङको शवचाहिँ शवगृहमै छ । उनका आफन्त सीताको मात्रै शव लैजान चाहन्नन् । उनका श्रीमान्को शवको पहिचानै भएको छैन । परिवारले श्रीमान् श्रीमती दुवैको शव एकैचोटि लैजाने पक्षमा छन् । सोही कारण सीताको शव श्रीमानकाे शवको प्रतीक्षामा शवगृहमै छ ।
६ महिनाअघि सिजनल भिसामा बेलायत पुगेका श्रीमान् ‘बेलमान गुरुङ’ नेपाल फर्कने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन सीता पुगेकी थिइन् । श्रीमान् लिन ४ दिनअघि काठमाडौं पुगेकी सीताको आइतबार काठमाडौंबाट पोखरा फर्कने क्रममा यती एयरको विमान दुर्घटनामा ज्यान गयो । जहाजमा सीता र बेलमानसँगै थिए । एउटै विमानमा सवार २ जनामध्ये श्रीमान्को न कुनै शव हो भन्ने यकीन भएको छ, न नभेटिएका एक यात्रु उनै हुन् भन्ने छ ।
क्षेत्रीय अस्पतालमा विमान दुर्घटनाका ३ शव बाँकी छन् । पहिचान भएर बुझिसके पनि आफन्तले सीता गुरुङको शव शवगृहमै राखेका छन् ।
विमानमा सवार ७२ जना मध्ये १ जना अझै भेटिएका छैनन् । मंगलबार बलुकासम्म ७१ जनाको शव भेटिए पनि अझै १ जनाको अवस्था अज्ञात छ । भेटिएकामध्ये ४८ वटा शव पहिचान हुन नसकेपछि काठमाडौं लगिएको छ ।
पहिचान खुलेर अस्पतालबाट हस्तान्तरण भएका मध्येको एक हो, सीताको शव ।
तर, श्रीमानको अवस्था अज्ञात भएपछि उनका परिवारले पश्चिमाञ्चल अस्पतालकै शवगृहमा सीताको शव राखेका हुन् । बेलमान गुरुङका भाइ रोशनका अनुसार दाइको खोजबिन नभएसम्म सीताको शव अस्पतालमै राख्ने सहमति भएको हो ।
‘यहाँ ल्याइएका सबै शव हेर्दा दाइको पहिचान हुन सकेन । काठमाडौं लगिएका ४८ मध्ये जुनसुकै हुन सक्छ । भाउजूको शव प्रष्ट चिनिएकाले पोखरामा नै पोस्टमार्टम भयो । हामीलाई शव हस्तान्तरण पनि भयो । तर, हामीले यहीँ शवगृहमा राखेका छौं, भक्कानिँदै रोशनले भने, ‘यसमाथि अझै एउटा शव भेटिएको छैन ।
यत्रो दुर्घटनाबाट यो संसारमा हुनुहुन्छ भन्ने पनि विश्वास छैन । त्यही पनि दाइको पहिचान भएपछि दाहसंस्कार एकैचोटि गर्ने भनेर भाउजूको शव यहीं राखेका हौं ।’ ३ दिनदेखि सीताको शव कुदा कुर्दै उनका आफन्त भावविह्वल छन् । ओठमुख सुकेका छन् । रुँदारुँदै थाकेका आँखाले पोस्टमार्टम भवन हेरिरहन्छन् ।
अझै कति दिन अस्पताल धाउनुपर्ने हो भाइ रोशनलाई थाहा छैन । ‘जे नहुनुपर्ने हो । त्यो भयो, अस्पतालले पनि १ हप्तासम्म शव सुरक्षित राखिदिन्छौं भनेको छ । दाइको अझै पहिचान भएको छैन । भोलि नै शव पहिचान गर्न २ जना दाइ काठमाडौं जानुहुन्छ,’ भाइ रोशनले भने । कास्कीको माछापुच्छ्रे घरभएका सीता र बेलामानका २ छोरी र १ छोरा छन् ।
नभेटिएका यात्रु आफ्नै दाइ पनि हुन सक्ने रोशन बताउँछन् । ‘भाउजूको त स्प्रष्ट चिनिन सक्ने शव थियो । अनुहारमा चोट नलागेकाले सहज भयो,’ उनले भने, ‘भाउजूले लगाउनुभएको सुन पनि आज अस्पतालले हामीहरुलाई बुझायो । तर, दाइको हालसम्म केही पहिचान हुन सकेन ।’
दाइ विदेशबाट ६ महिनापछि आएकाले कोही कसैले पनि शरीर देखेर पहिचान गर्न सक्ने अवस्था नभएको रोशनले सुनाए । ‘सुरुमा त हामीले एउटा शव नै दाइको शव भन्यौं । तर, त्यो त पाइलट कमल केसीको रैछ,’ उनले भने । अस्पतालमा बाँकी ती २ शव प्रदेश बाहिरका व्यक्तिका हुन् । दुर्घटनामा मृत्यु भएका ४८ जनाको पहिचान हुन नसकेपछि काठमाडौंस्थित फरेन्सिक ल्याबमा पोस्टमार्टमका लागि पुर्याइएको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया