लेखनाथबाटै पासपोर्ट धमाधम

भीमपाणि बराल २०७९ माघ ८ गते १०:३९

लेखनाथ ।
कास्कीको लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राहदानी लिने बढेका छन् । २०७८/७९ को तुलनामा आव २०७९/८० पुस मसान्तसम्ममा राहदानी लिनेको संख्या झण्डै दोब्बर भएको हो ।

Advertisement

पोखरा २६ देखि ३३ र रुपा गाउँपालिकाका करिब सवा लाखलाई सहज रुपमा प्रशासनिक सेवा दिन २०७३ मा यसको स्थापना भएको हो । कार्यालयले नागरिकता, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय पत्र र अन्य विविध प्रमाणितका काम गर्दै आएको छ ।

२०७८/७९ मा १ हजार ३ सय ५२ जनालाई राहदानी वितरण गरेको कार्यालयले २०७९/८० को पुस मसान्तसम्ममा २ हजार १ सय २३ जनालाई राहदानी वितरण गरिसकेको छ । चालु आवको अझै बाँकी रहेका ६ महिनालाई हेर्ने हो भने गत वर्षको तुलनामा राहदानी लिनेको सख्यामा ४ गुणाले वृद्धि हुने देखिन्छ ।

यसो हुुनुको पहिलो विदेश जानेको संख्या बढ्नु हो । दोस्रो कारण गत वर्ष काभिडका कारण प्रशासनिक काम कम हुनु र विदेश आउजाउमा रोक लगाउनु हो । पहिलाका हस्तलिखित र एमआरपीलाई इ पासपोट बनाउनेको माग बढी देखिएकाले यो आर्थिक वर्षमा धेरैले राहदानी बनाएको हुन सक्ने इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी बताउँछन् ।

राहदानी प्राप्तिका लागि अनलाइनबाट फर्म भरेर चाँडो पाउनका लागि राहदानी विभागमा सिफारिस गरिन्छ । सामान्य फारम संकलन गरेर करिब डेड महिनामा राहदानी प्राप्त गर्न सकिन्छ भने सामान्य राहदानीका लागि स्थानीय स्तरमा नै ५ हजार राजस्व बझाउनु पर्छ । चाँडो राहदानी पाउनका लागि बर्गीकरण अनुसार भिन्दा भिन्दै रकम केन्द्रमा नै बुझाउनुपर्ने प्रावधान छ ।

Advertisement

सुरुमा हस्तलिखित हँुदै एमआरपी राहदानी जारी गर्दै आएको सरकारले अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको इपासपोट दिदै आएको प्रमुख भण्डारी बताउँछन् । २०७८/७९ मा इलाका प्रशासन कार्यालय लेखनाथबाट १ करोड ५३ लाख १२ हजार ५ सय राजस्व संकलन भएको छ भने चालु आव २०७९÷८० को पुस मसान्तसम्ममा १ करोड २२ लाख ३२ हजार राजस्व संकलन भएको छ ।

कार्यालयबाट प्रादन हुने नयाँ नागरिकता सेवातर्फ आव २०७८/७९ मा महिला २ हजार ४६ र पुरुष १ हजार ७ सय १२ गरी ३ हजार ७ सय ७६ जनाले नागरिकता प्राप्त गरेका छन् भने चालु आवको पुस मसान्तसम्ममा ८ सय ४ महिला र ६ सय ६५ पुरुष गरी १ हजार ४ सय ६९ जनाले नागरिकता प्राप्त गरेको तथ्यांक छ ।

यता, कार्यालयमा राष्ट्रिय परिचय पत्रका लागि आव २०७८/७९ मा महिला ३ हजार १ सय २८ र पुरुष ३ हजार ५ सय ९८ जनाले नाम लेखाएका छन् । चालु आवको पुस मसान्तसम्ममा महिला १ हजार ६ सय ११ र पुरुष २ हजार २१ गरी ३ हजार ६ सय ३२ को नाम समावेस भइसकेको कम्प्युटर अपरेटर ध्रुव पौडेलले जानकारी दिए ।

कार्यालयले यस क्षेत्रका सेवाग्राहीका लागि थप सेवा अन्तर्गत नागरिकताको प्रतिलिपि, नाबालक परिचय पत्र, विविध खालका प्रमाणित, बजार अनुगमन र स्थानीय शान्ति, सुरक्षाका सवालमा प्रमुख जिल्ला अधिकारीले प्रत्योजन गरेका अधिकार कार्यान्वयन गर्दै आएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघले लेखनाथमा इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय स्थापनाका लागि आवाज उठाएपछि विस २०७३ बाट लेखनाथबाट कार्यालयले सेवा सुरु गरेको हो ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया