बागलुङमा औद्योगिकग्राम निर्माण हुँदै

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १२ गते १३:४६

ढोरपाटन ।
बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो ।

कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार केन्द्र सरकारले पहिलो वर्ष ९२ लाख बजेट विनियोजन गरेको थियो ।

Advertisement

उक्त बजेटले संरचना निर्माण थालनी भइसकेको अध्यक्ष लामिछानेको भनाइ छ । यस वर्ष केन्द्र सरकारले एक करोड विनियोजन गरेको भन्दै आगामी वर्ष औद्योगिकग्राम निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

अध्यक्ष लामिछानेले भने, “औद्योगिक ग्राम निर्माण आगामी वर्ष सक्ने लक्ष्य छ । एकवर्ष काम हुन सकेन । यो वर्ष कामलाई तीव्रता दिने छौँ ।औद्योगिक ग्रामले स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पुर्‍याउने अपेक्षा छ ।”

Advertisement

गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले स्थानीयलाई व्यापार व्यवसाय र उत्पादनसँग जोड्न औद्योगिकग्राम निर्माण भइरहेको बताए । अहिलेसम्म दुई वटा टहरा र यहाँसम्म पुग्ने सडक निर्माण भइसकेको प्रवक्ता विकको भनाइ छ ।

“औद्योगिकग्राम निर्माण सुरु भएपछि स्थानीयमा उत्साह जागेको छ, अहिले जग्गा व्यवस्थापन र केही संरचना निर्माण भएका छन्, सडक पनि निर्माण भइसकेको छ, अन्य कामलाई तीव्रता दिन थालेका छौँ,” उनले भने,

”औद्योगिकग्राम निर्माण पश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुनेछन् । उद्योग गर्न चाहने स्थानीयले गाउँपालिकाले स्थान उपलब्ध गराउने छ । औद्योगिक ग्रामले रोजगारी सिर्जना गर्नुका साथै सामान्य वर्गको दैनिकीमा समेत परिवर्तन ल्याउने उनको विश्वास छ ।”

किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा दूधलाई बजारीकरणका लागि अक्षते बजारमा हाटबजार सञ्चालनसमेत गर्ने तयारीमा रहेको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए ।

उनले काठेखोला बागलुङमा सबैभन्दा बढी कृषि उपज वस्तु उत्पादन गर्ने पालिका भएको हुँदा किसानलाई बजारको सहज पहुँचमा पुर्‍याउन र उचित मूल्य दिलाउन हाटबजार सञ्चालन गर्न थालेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया