तनहुँ हाइड्रोकाे काम धमाधम

समाधान संवाददाता २०७९ माघ १७ गते ११:४८

दमौली ।
तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ अन्तर्गतको काम ५५ प्रतिशत सकिएको छ ।

हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग २०७५ साल असोज १५ मा ३ अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो ।

Advertisement

आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ ।

आयोजनाको १ हजार ४ सय ५६ दशमलव ९ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मंसिर मसान्तसम्म ६ सय ८० मिटरको काम सकिएको छ ।

Advertisement

२ सय १० दशमलव ९ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ ।

प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । ‘डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मंसिर मसान्तसम्म ३ सय ४१ मिटर खनिसकिएको छ’, श्रेष्ठले भने ।

सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म ३ सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्र्तगत ४ सय ८० मिटर निर्माण सकिएको जनाइएको छ ।

बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोपअन्र्तगत ४ सय ७० मिटरकाम सकिएको आयोजनाले जनाएको छ । प्याकेज १ २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यसअन्र्तगत हालसम्म २ अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ ।

प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।

सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिला गरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ ।

प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शून्य छ र वित्तीय प्रगति ५३ दशमव शून्य ४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया