मुख्यमन्त्रीसँग कैदीबन्दी: सुत्ने ठाउँ छैन, सिधाले खान पुग्दैन

समाधान संवाददाता २०७९ फागुन १७ गते १०:२१

पोखरा ।
कास्की कारागारमा रहेका कैदी तथा बन्दीले बसोबासको उचित व्यवस्थापन गरिदिन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कारागार निरीक्षण गर्न गएका प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई उनीहरुले कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेकाले सुत्ने ठाउँको अभाव भएको गुनासो गरे ।

कारागार प्रमुख भीमराज कोइरालाले कैदी बन्दीले क्षमताभन्दा बढी कैदी बन्दी भएकाले स–साना कोठामा कोच्चिएर बस्नुपर्ने बाध्यता भएको जनाए । कैदीबन्दीले बसोबासको व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरे ।

कारागार प्रमुख कोइरालाले मुख्यमन्त्री अधिकारीलाई कारागारमा क्षमताभन्दा बढी कैदी, बन्दी रहेकाले त्यसको व्यवस्थापन गर्न संघ सरकारसमक्ष समन्वय गरिदिन आग्रह गरे । मुख्यमन्त्री अधिकारीले कारागारको सबै ब्लकमा पुगेर कैदी, बन्दीलाई भेटी गुनासो सुनेका छन् ।

Advertisement

कैदी बन्दीले समयानुकूल सिधा खर्चको कमी भएको तथा सुरक्षा, सरसफाइ, बिजुली, शौचालय, पानीको प्रयोग, स्वास्थ्य परीक्षण जस्ता अत्यावश्यक कुरामा समेत समस्या रहेको मुख्यमन्त्री अधिकारीलाई अवगत गराए । कारागारमा खेलकुद सामग्री, शौचालय र पुस्तकालय अभाव रहेको र मनोरञ्जनको कुनै व्यवस्था नभएको तथा सीपमूलक तालिमको व्यवस्था नभएको कैदीबन्दीको गुनासो छ ।

मुख्यमन्त्री अधिकारीले कारागार व्यवस्थापन संघ सरकारको भएता पनि प्रदेश सरकारले सक्ने सहयोग गर्ने आश्वासन दिए । ‘सबै कारागारको सञ्चालन तथा व्यवस्थापन संघ सरकारको जिम्मामा पर्छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘कारागारमा रहेका कैदी तथा बन्दीलाई सही रुपमा व्यवस्थापन गर्नका लागि संघ सरकारसँग नियमित रुपमा समन्वय र सहकार्य गरिनेछ ।’

Advertisement

उनले कारागारमा भान्सा, बस्ने ठाउँ र कैदी बन्दीका व्यक्तिगत समस्या प्रदेश सरकारलाई लिखित रुपमा उपलब्ध गराउन आग्रह गरे । कास्की कारागारमा महिला ब्लकमा ४६ महिला छन् । पुरुषतर्फ क ब्लकमा ३ सय ४२ र ख ब्लकमा ३ सय ६८ पुरुष गरी कास्की कारागारमा कुल ७ सय ६३ कैदी, बन्दी छन् ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले कारागार नियमित रुपमा निरीक्षण गरी सुधारको लागि प्रतिवेदन सरकारसमक्ष पेश गर्ने प्रचलन छ । प्रदेश सरकारको तर्फबाट समेत बेला बखत कारागार निरीक्षण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया