पोखरालाई पर्यटनको राजधानी बना‍औं: प्रदेश प्रमुख गुरुङ

समाधान संवाददाता २०७९ फागुन १८ गते १०:४८
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ बुधबार प्रदेश सभाको बैठकलाई सम्वोधन गर्दै । तस्बिर : कृष्ण दवाडी ,रासस

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीय शासन प्रणाली लागूपछि यो कार्यकालमा सांसदमाथि सुशासन, विकास र समृद्धि बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन् । प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख गुरुङले विगतका ५ वर्षमा गण्डकी सरकारले विकास र समृद्धिका लागि सकारात्मक प्रयास गरे पनि पूरा हुन नसकेको उल्लेख गरे ।

‘सुशासन, विकास र समृद्धि सम्पूर्ण जनताको साझा विषय हो । यसै तथ्यलाई मध्यनजर गरी यस अगाडिका सरकारहरुले अगाडि बढाएका आयोजना तथा कार्यक्रम सम्पन्न गर्ने कार्यलाई समेत प्राथमिकता दिनुपर्छ,’ सभालाई सम्बोधन गर्दै गुरुङले भने ।

जनतालाई समयमै सुलभ तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गण्डकी प्रदेश सरकारको प्राथमिकताको भएको उनको भनाइ छ । प्रमुख गुरुङले सरकारले स्वास्थ्य क्षेत्रमा प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक रणनीति अपनाउने विश्वास व्यक्त गरे । प्रदेश मातहतका अस्पतालहरु स्तरोन्नति गरी अस्पतालको सेवा प्रवाह गर्ने क्षमतामा यो सरकारको ध्यान उनको भनाइ छ ।

Advertisement

‘कडा रोग लागेका बिरामीले आर्थिक अभावमा उपचार सेवा नपाउने अवस्था अन्त्य गर्दै सबै नागरिकलाई नियमित रुपमा स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्नुपर्छ,’ प्रमुख गुरुङले भने, ‘घर घरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिक, गर्भवती महिला र अपांगता भएका व्यक्तिहरुको घरमै स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न यो सरकार केन्द्रित हुन्छ भन्ने मलाई लागेको छ ।’

प्रदेश प्रमुख गुरुङले सबै घरधुरीमा विद्युत सेवा विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमलाई पूर्णता दिइने बताएका हुन् । प्रदेश समृद्धिमा टेवा पुयाउने गरी बहुउद्देश्यीय प्रकारका जलविद्युत आयोजना सञ्चालनमा प्राथमिकता दिई काम हुने उनले बताए ।

Advertisement

सरकारलाई प्रदेशमा चल्ने सवारीमा विद्युतीय प्रयोगलाई बढावा दिन विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न उनले आग्रह गरे । सरकारले पहिलो कार्यकालमा सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई अधुरा खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने र सम्पन्न भएका आयोजनाको दिगो व्यवस्थापन गर्ने उनको विश्वास छ ।

गण्डकी प्रदेश पर्यटनको प्रचूर सम्भावना भएको प्रदेश हो । दिगो पर्यटन विकासबाट उत्पादन र रोजगारी वृद्धि गरी प्रदेशको अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यलाई सफलीभूत पार्न प्रदेश सरकार प्रतिवद्ध भएपछि यसलाई मुर्त रुप दिन प्रदेशलाई ‘पर्यटकीय राजधानी’ घोषणा प्रदेश सरकार गर्ने गुरुङले सुनाए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सम्पर्क बढाई व्यस्त विमानस्थलका रुपमा विकास गर्न र यसबाट गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सिर्जना सरकारले गर्छ । यसका लागि आकर्षक पर्यटकीय सम्पदा रहेका, प्रदेशका मुख्य पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गरिनेछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया