दाैंतरीका सिर्जना र सहयात्राका अनुभव

समाधान संवाददाता २०७९ चैत १२ गते ११:०५

पोखरा ।
शनिबार पोखरामा आयोजित दौँतरी कवितावाचनमा उभिए नेपाली साहित्यका मानक स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ । २०१२ मा बागबजारमा जन्मिएका सरुभक्त र त्यसको ४ वर्षपछि धोबीगौँडामा जन्मिएका तीर्थको घर एउटै टोलमा छ ।

जब दौँतरी कविका रूपमा उभिएका उनीहरुको बाल्यकालको कुरा चल्यो दर्शकदीर्घामा बसेकाहरू अचम्मित बने । हिँडेर जाँदा मुस्किलले एक मिनेटमा हुर्किएका ती २ बालकबीच चिनाजानी पृथ्वीनारायण क्याम्पस पढ्दामात्रै भयो, त्यो पनि नाटक मञ्चनको सिलसिलामा ।

आज एकअर्काका आनीबानी, प्रवृत्ति र विशेषताबारे घन्टौँ बोल्न सक्ने एकै ठाउँका स्रष्टासँग बाल्यकालीन उट्पट्याङका कुनै अनुभव छैनन् । न कालीखोलामा सँगै पौडिएको अनुभव छ, न त भीमकाली पाटनका बयर टिप्न जाँदाको ।

Advertisement

नेपाली लेखक संघ, गण्डकीले आयोजना गरेको दौँतरी कविता वाचन कार्यक्रम सुरु हुनुभन्दा ठीक आधा घण्टाअघि एउटै गाडीमा कार्यक्रम स्थलमा आईपुगे सरुभक्त र तीर्थ । संघका महासचिव सञ्जीव पौडेलले नेपाली लेखक संघको पृष्ठभूमिसहित कार्यक्रम थालनी गरे । कविका विविध आयामबारे डा. ईश्वरमणि अधिकारीले प्रकाश पारे ।

तीर्थद्वारा लिखित ‘हिउँमा लेखिएका नामहरू’ वाचन गरेर ईश्वरमणिले कार्यक्रम थालनी गरे । त्यसपछि कविताको रचना गर्भ बताइदिन कवि तीर्थलाई आग्रह गरे । तीर्थले कविता रचनाको परिवेश र सरूभक्तसँगको मित्रता कविताको गर्भमा रहेको सुनाए ।

Advertisement

केही कविता र दौँतरी संवादपछि ईश्वरमणिले कवि तीर्थ श्रेष्ठलाई सोधे, ‘भक्तराज श्रेष्ठ कसरी सरूभक्त भए ? भन्न मिल्ने जति भनिदिनुहुन्छ कि !’ तर तीर्थले बडो चलाखीपूर्ण जवाफ दिए, ‘फलामखानी उत्खनन् गर्ने खानीमा वरिपरि तारबार गरिएको हुन्छ, जोकोहीलाई प्रवेश दिइँदैन ।’

२ कविले करिब दर्जन कविता सुनाए । पालैपालो दुवै कविका कविता प्रस्तुत गरिएको सो कार्यक्रममा लेखन, नाट्यकर्म र अन्य साहित्यिक गतिविधिमा संलग्नताका विविध आयामका बारे समेत छलफल भयो । दुवै साहित्यकारले साहित्य लेखनका माध्यमबाट प्रज्ञा प्रतिष्ठानको नेतृत्वसम्मका अनुभव सुनाए ।

केही व्यक्तिगत, केही साहित्यिक, केही संस्थागत र प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहँदासम्मका विविध आयामका अन्तरकुन्तर दर्शकले थाहा पाए । कार्यक्रम सकिएपछि कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले दौतरी कविलाई मायाको चिनो दिए । दौँतरी कार्यक्रमको दोस्रो शृंखलाका रूपमा ‘दौँतरी (मुक्तक)’ सुनाइने भएको छ ।

आगामी शृंखलामा दौँतरीका रूपमा साहित्यकार दीपक समीप र जीवनसागर भण्डारीलाई मञ्चमा ल्याउने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया