आलु महोत्सवको तयारी तिब्र

समाधान संवाददाता २०७९ चैत १५ गते १७:१५

हेमजा ।
विष्णुपादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तीव्र पारिएको छ । चैतको २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको मूल आयोजक समिति सल्लाहकार तथा उपसमितिसँग बुधबार बसेको बैठकमा जनाइएको छ ।

Advertisement

महोत्सवलाई किसानको महोत्सव बनाउन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश लगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भइरहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।

उनले कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषकबीच कृषि साझा सवाल आयोजना गरिने बताए । महोत्सवका लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको र आलुको साथसाथै रैथाने बालिको प्रदर्शन गरिने छ ।

महोत्सवको आकर्षणका लागि निर्माण गरिने आलुको पहाडका लागि आलु संकलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले बताए । उनले बुधबारसम्म ५० केजीको ५५० बोरा संकलन भइसकेको र अब ५० बोरा संकलन गर्न बाँकी रहेको बताए ।

आलुको साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवको लागि हेमजाका आलुले पुग्ने उल्लेख गरे । बाहिरी आलु ल्याए महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न उहाँले सबैमा आग्रह गरे ।

Advertisement

महोत्सवको समायावधि नजिक आइरहँदा बुधबारसम्म स्टल निर्माणका काम भइरहेको तथा स्टल बुकिङ भइरहेको स्टल तथा रेस्टुरेन्ट उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेस्टुरेन्टका स्टल बुकिङ भइसकेको बताए ।

बैठकमा मूल आयोजक समिति संयोजक सुबिन श्रेष्ठ, सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापा, प्रचार उपसमिति संयोजक नीराजन अधिकारी लगायतले अहिलेसम्म भइरहेको गतिविधिको बारेमा जानकारी गराए । जितबहादुर कार्की, भीमप्रसाद श्रेष्ठ, नीलकण्ठ पौडेल लगायतले सुझाव दिएका थिए ।

‘सुन्दर ठाऊँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत छन् ।

तपाईको प्रतिक्रिया