माफ पाऊँ, सरकार !

केही महिनाअगाडि भारतीय उद्योगपति रतन टाटासित जोडिएको एउटा समाचार व्यापक (भाइरल) भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई पिएम केअर फन्डमा ट्रस्टीको रूपमा नियुक्त गरेका थिए । कुनै बेला यिनै जेआरडी टाटाले सुरू गरेको एअर इन्डिया विमान सेवालाई राष्ट्रियकरण गरिएको थियो ।
कालान्तरमा ६९ वर्ष लामो घाटाको धपेडी थेग्नै नसक्ने अवस्था आएपछि भारत सरकारले टाटा समूहलाई नै एअर इन्डिया फिर्ता गर्यो । जेहोस्, भारतका प्रभावशाली व्यक्तित्वहरु समेटिएको पिएम केअर फन्डमा निजी क्षेत्रको व्यक्तिलाई ट्रस्टी बनाउनुलाई कतिपयले राजनीतिक नाटक भने त कतिले साँठगाँठको संज्ञा दिए ।
रतन टाटा भारतका गौरव हुन् र भारतरत्नबाट सम्मानित हुने योग्यता भएका व्यक्तित्व हुन् भनेर कतिपयले नरेन्द्र मोदीको समर्थन पनि गरे । र, कतिपयले त्यस घटनाबाट निजी क्षेत्रबारे भारतीय सरकारको उदार दृष्टिकोण उजागर भएको पनि ठाने ।
लगभग सात दशक पुरानो भारतमा निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण फरक थियो । भारतीय जनताबीच लोकप्रिय प्रधानमन्त्री स्व. इन्दिरा गान्धीको बेलाको भारतको आर्थिक अवस्था खस्किँदै गएको थियो ।
जनताको आम्दानीबाट उठेको करबाट विकासका काम हुन त परै जाओस् राज्य सञ्चालनमै अप्ठेरो परेको थियो । उद्योगपति र व्यापारीले इमानदारीपूर्वक कर तिरेनन् भन्ने सरकारको गुनासो थियो । कडा कानुन बनाउँदै तात्कालीन भारत सरकार निजी क्षेत्रलाई अनुशासनमा ल्याउन लागिपरेको थियो ।
हरेक कानुनमा व्यवसायीलाई थुनछेक गर्ने, कडाभन्दा कडा दण्ड जरिवाना लगाउने प्रवाधान थपिँदै गएका थिए । दिनहुँ व्यवसायीहरूको प्रतिष्ठान र घरमा छापा मारिन्थ्यो, धरपकड गरिन्थ्यो । व्यवसायीहरूलाई जेलमा थुन्ने क्रम बढेको थियो ।
तैपनि स्थितिमा सुधार हुन त परै जाओस् झनझनै बिग्रँदै गएको थियो । छापामारी अथवा अनुगमनमा खटिएका सरकारी कर्मचारी तथा तथा कानुन मिच्ने व्यवसायीहरूबीच अघोषित लेनदेनको खेल सुरू भयो । त्यति बेलाको शासनलाई ‘इन्स्पेक्टर‘ राज भनिन्थ्यो । यसको नाकारात्मक प्रभाव सहीरुपमा काम गर्ने व्यवसायीहरूउपर सोझै पर्यो ।
जति कानुनसम्मत कारोबार गर्न खोजे पनि एक न एक दिन सरकारको फन्दामा पर्नु नै छ । फन्दामा परेपछि टेबलमुनिको लेनदेन गरेर मुक्त हुन सकिँदो रै’छ भन्ने सन्देश व्यवसायी समाजमा फिँजियो । नभन्दै कानुनसम्मत गर्न चाहनेहरू पनि बिस्तारै कानुन मिचेर कारोबार गर्न थाले । देशको औपचारिक अर्थतन्त्र झन्झन् दुर्बल हुँदै गयो ।
‘अब सकिँदैन‘ भन्दै थुप्रै उद्योगी विदेश पलायन भएका छन् । यो क्रम बढ्दो अवस्थामा छ
देशभित्र कालो धनको वर्चस्व बढ्दै गयो । राष्ट्रवादको भावनात्मक दोहन कतिसम्म गरिएको थियो भने सामान्य जनताले तिनै इन्दिरा गान्धीलाई आफ्नो सर्वश्रेष्ठ नेता मानेका थिए । सरकारलाई दुईतिहाइ बहुमत प्राप्त भएको थियो । कोही पनि इन्दिरा गान्धीको विपक्षमा सुन्न पनि चाहँदैनथ्यो । तर, देश भने दिनप्रतिदिन खोक्रो हुँदै गएको थियो ।
हुँदाहुँदै आर्थिक अवस्था कतिसम्म बिग्रियो भने ठूल्ठूला बैंकहरूको राष्ट्रियकरण गर्ने बाध्यात्मक अवस्था आयो । देशमा नाम चलेका ठूला उद्योगहरूको समेत राष्ट्रियकरण गरियो । इन्दिरा गान्धीले देशमा संकटकालको घोषणा गरिन् । देश असफल राष्ट्रमा परिणत हुने अवस्थामा पुग्यो ।
त्यसपछि अनेक सरकार आए र गए तर स्थितिमा खासै सुधार हुन सकेन । सन् १९९१ ताका पीवी नरसिंह रावले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपश्चात् निजी क्षेत्रप्रति सरकारको धारणामा परिवर्तन भयो । उनले अर्थतन्त्र बुझेका विद्वानहरूलाई शासनमा सहभागी गराए । दूधालु गाईलाई कुटेर, पिटेर, तर्साएर, दण्ड सजाय दिएर अथवा थुनामा राखेर दूध संकलनको मात्रा बढाउन सकिँदैन भनेर भारत सरकारले स्वीकार गर्यो ।
विशेषगरी सबै मुद्दामा थुन्ने प्रावाधनहरु हटाइए । व्यक्ति विशेषको तजबिजको आधारमा निर्णय गर्ने व्यवस्था हटाइयो ।
आयातनिर्यात खुला गरियो । विदेशी निवेशकहरूको लागि ढोका खोलियो । राष्ट्रियकरण गरिएका उद्योगहरूलाई सम्बन्धित उद्योगपतिलाई फिर्ता गरियो ।
त्यसपछि आउने सरकारहरूले समेत नरसिंह रावकै नीतिलाई नै अगाडि बढाए । आज भारतको अर्थ व्यवस्थाले कस्तो उचाइ लिएको छ भनिराख्नु पर्दैन । तर, सत्तरी वर्ष पुराना तथा थोत्रा प्रमाणित भइसकेका तिनै कानुनी व्यवस्था अब नेपालमा लागु गर्ने काम सुरू भएको छ । अर्थात्, उद्योग व्यापारसित जोडिएका कानुनमा संशोधन गरेर जेननेलको व्यवस्था थपिएको छ ।
व्यक्ति विशेषलाई तजबिजमा दण्ड जरिवाना गर्ने अधिकार थपिएको छ । कालोबजारी, कालो धन र राजस्व चुहावटमा अंकुश लगाउन सर्वअधिकार सम्पन्न एकपछि अर्को सरकारी निकाय थपिँदै गएका छन् । जसरी पनि उद्योगी व्यापारीसँग बढीभन्दा बढी कर असुल गर्ने नीति अख्तियार गरिएको छ । यति धेरै प्रयास गरेपछि त देशको आर्थिक अवस्थामा पनि व्यापक सुधार हुनुपर्ने थियो ।
तर, अवस्था त झनझनै बल्झिँदै गएको छ । निजी क्षेत्रको कारोबार अधोगतितिर लागेपछि देशको राजस्व पनि घट्दै जानु स्वाभाविक नै हो । अब कर्मचारीलाई तलब कसरी खुवाउने भन्ने पो सरकारको टाउको दुखाइ बनेको छ । आयातको परिणाम जति घटे पनि हुन्छ तर भन्सारमा उठ्ने कर घट्नु हुन्न । उद्योगहरू समान्यभन्दा आधी क्षमतामा चलुन् तर अन्तःशुल्क आयकरआदि घट्नु हुँदैन । बढ्दो बैंक ब्याजको कारणले होस् अथवा लोडसेडिङको कारणले उत्पादनको लागत बढे पनि बजारमा मालसमानको मूल्य बढ्नु हुँदैन ।
विदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका वस्तु विदेशी बजारमा मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा गर्न सकुन् भनेर सरकारले चाहना जाहेर गर्यागर्यै छ । तर, कुन उपायबाट सम्भव हुन्छ भन्ने कुरोको जवाफ बेपत्ता छ । बरू चोरी पैठारी गरेर देशभित्र मालसमान भित्र्याउने अभ्यासमा एक्कासी बढोत्तरी भएको छ ।
त्यस्ता चोरी पैठारीको मामिलामा सरकारको अवस्था निरीह देखिएको छ । चोरी पैठारी गर्नेहरू सरकारको ‘रेडार‘भित्र परेकै हुँदैनन् – न पान नम्बर छ न भ्याट नम्बर । भंसार, मूअकर, अन्तःशुल्क अथवा आयकर केही तिर्नु परेन । न खाद्य ऐन लागु हुन्छ, न श्रम ऐन । न समाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ, न निवृत्तिभरणको लफडा ।
त्यस्ता चोरी पैठारी गर्नेहरू सरकारको आँखामै नपरेपछि नेपाल सरकारले पनि के गरोस् ? जो रेडारभित्र परेका छन् तिनैबाट काम चलाउने सोच सरकारभित्र पलाएको हुनुपर्छ । फलस्वरूप, देशमा जति कानुन आए तिनमा कानुनको दायरा फराकिलो बनाएर कारोबारीसित बढी राजस्व संकलन कसरी गर्न सकिन्छ भन्ने मर्म नै प्रमुख रह्यो ।
आज भ्रष्टाचारको ग्राफ समग्र एसियामै सबैभन्दा अग्लो स्थानमा पुगेको छ । सबै जना भ्रष्टाचार बढ्यो भन्छन् तर अरूको क्षेत्रमा । आफ्नो क्षेत्रको भ्रष्टाचारबारे कुरै गर्न चाहँदैनन् । निजी क्षेत्र पनि यस मामिलामा चोखो भने छैन । तर, निजी क्षेत्रलाई मात्र लक्षित गरेर एकपछि अर्को कानुन थुपारेर भ्रष्टाचारलाई सिध्याउन सकिन्छ त ? जवाफ, सबैलाई थाहा छ । तर, खाइपाई आएको सुविधा कोही छोड्न चाहँदैन ।
सरकारी क्षेत्रका कर्मचारी होउन् वा निजी क्षेत्रका कार्य मूल्यांकन पद्धति सिफारिस, पहुँच र चाकरीमा केन्द्रित छ । युवा शिक्षित होउन् वा अशिक्षित, दक्ष होउन् वा अदक्ष देशभित्र बस्न मानेका छैनन् । विदेशी लगानी ठ्याम्मै रोकिएको छ । आक्कलझुक्कल कोही झुल्किहाल्यो भने पनि हाम्रै स्थानीय उद्योगलाई सिध्याउने खालका परेका छन् । बिजुलीको धनी भनिएको देशमा बिजुली आपूर्ति अझै सहज हुन सकेको छैन ।
अद्वितीय प्राकृतिक सौन्दर्य भएको देशमा पर्यटन व्यवसाय अझै फस्टाउन सकेको छैन । स्थानीय उद्योगीहरूको लगाव पनि उद्योगभन्दा व्यापारतिरै ढल्किँदै छ । ‘अब सकिँदैन‘ भन्दै थुप्रै उद्योगी विदेश पलायन भएका छन् । यो क्रम बढ्दो अवस्थामा छ । तर, सरकारको परम्परागत अनुदार दृष्टिकोण निजी क्षेत्रप्रति अझै पनि कायम नै छ ।
भनिन्छ–फरक गन्तव्यमा पुग्ने इच्छा छ भने बाटो पनि नयाँ नै समात्नु पर्ने हुन्छ । तर, नेपाल सरकारले सुन्न चाहे न हो । खैर, कन्थोलाई विराम दिनुअघि एउटा कुरो भन्नै पर्ने हुन्छ–माफ पाऊँ सरकार ! सबैभन्दा पहिला आफ्ना सल्लाहकार फेर्नोस् । र, देशविदेशमा लुकेका युवा विचारकलाई आफ्नो सल्लाहकार बनाउनोस् । बाँकी, भगवान पशुपतिनाथको जो मर्जी !









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया