११ गतेदेखि खोप सप्ताह

समाधान संवाददाता २०८० वैशाख ३ गते १०:५०

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागेको हो ।

Advertisement

छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेला लगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताह अन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले सुनाए ।

वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते २ दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइनेछ ।

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ ।

Advertisement

खोप लगाउने छुटेका इँटाभट्टा, कलकारखाना लगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिका अनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठक लगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।

आगामी शैक्षिक सत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने ५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने निर्देशक लालले जनाए । स्थानीय तहमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोप कार्य अनिवार्य गरिने भएको छ ।

तपाईको प्रतिक्रिया