धारा दोहोर्‍याएर कांग्रेस नेतृत्वमा सरकार !

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी

सञ्जय रानाभाट २०८० वैशाख १३ गते ११:२३

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री एमाले नेता खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया प्रदेश प्रमुखले थालेका हुन् ।

‘मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा प्रस्तुत भएको विश्वासको मत बहुमतद्वारा अस्वीकृत भएको भनी जानकारी प्राप्त भएकाले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम वैशाख १४ गते बिहीबार दिनको ४ बजेभित्र सरकार गठन गर्न आहन गर्छु,’ आह्वानपत्रमा भनिएको छ ।

प्रदेश प्रमुख गुरुङले सरकार गठन आह्वान गर्दा विगतमा एमाले नेतृत्वको सरकार गठन गर्दाकै संवैधानिक व्यवस्था दोहो¥याएका छन् । यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको थियो । उक्त उपधारामा भएको व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थन बमोजिम अधिकारी नेतृत्वको सरकार बनेको हो । अधिकारी नेतृत्व सरकारलाई माओवादी र राप्रपाले समर्थन गरेका थिए । दुवै दल सरकारमा पनि सहभागी भए ।

Advertisement

आफ्नै नेतृत्व हुनुपर्ने भन्दै प्रधानमन्त्री भेट्न माओवादी नेता चुमान काठमाडौंतिर

तर, राष्ट्रिय राजनीतिमा आएको सत्ता गठबन्धनको फेरबदलीले माओवादी सरकारबाट बाहिरियो । चैत १० गते माओवादी सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता ग¥यो । अल्पमतमा सरकार परे पनि मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभाबाट विश्वासको मत लिन प्रस्ताव राखे । तर, उनले विश्वासको मत पाएनन् । प्रदेश सभाबाट पुस २९ गते ३१ सांसदको समर्थन पाए पनि वैशाख ९ गते २४ सांसदको मात्र समर्थन रह्यो ।

Advertisement

अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र प्रदेश प्रमुख गुरुङले मंगलबार सरकार गठन आह्वान गरेका हुन् । कांग्रेस र माओवादीबीच नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निश्चित नहुँदा गण्डकी प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनको आह्वान गर्नै ढिलाइ गरे ।

कांग्रेस र माओवादीबाट कुन दलले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा विवाद छ । कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डे लगायत सांसद केन्द्रीय नेताहरुलाई भेट्न सोमबार काठमाडौं गएका थिए । शीर्ष नेतासँग उनीहरुले जुन सुकै हालतमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने दबाब दिएका थिए । नेता पाण्डे लगायतले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार एमालेको सरकार बनिसकेकाले अब धारा ३ अनुसार सरकार गठन आहन हुनुपर्ने माग राखेका थिए ।

माओवादी केन्द्रको पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन हुनुपर्ने माग थियो—जसको नेतृत्व आफूले पाउनुपर्नै भन्ने थियो । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले शनिबार प्रदेश सभामा भनेका थिए, ‘सर्वोच्च अदालतको पछिल्लो व्याख्यालाई ध्यान दिएर प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको सरकार बनाउन आह्वान गर्नुहुन्छ । यसपछि सरकार गठन हुन्छ ।’

उपधारा २ दोहोरिए आफ्नो नेतृत्वमा सरकार गठन गर्ने माओवादीको चाहना थियो । तर, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन नभए सरकारमा नजाने र उपधारा ३ अनुसार सरकार गठन गर्न अड्डी कसेको थियो ।

यद्यपि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताबीच उपधारा २ अनुसार सरकार आहन गर्ने सहमति भयो । उपधारा दोहोरिए पनि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि मंगलबार कांग्रेस सांसद पोखरा फर्किएका छन् ।

कांग्रेसका सांसद भोजराज अर्यालका अनुसार बुधबार बेलुकासम्म कांग्रेसले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ । ‘बिहान दलको बैठक भएको थियो । उक्त बैठकले बुधबार बेलुकासम्म सरकारको दाबी गर्ने निर्णय भएको छ,’ उनले भने, ‘बुधबार भएन भने पर्सि (बिहीबार) बिहानै दाबी गर्छौं ।’

यता माओवादी सांसद भने प्रदेशमा हातमा आएको सरकार छाडेको भन्दै बुधबार डेलिगेसनमा काठमाडौैं पुगेका छन् । संसदीय दलका नेता हरिबहादुर चुमानले आफू प्रचण्डलाई भेट्न काठमाडौं जाँदै गरेको बताए । ‘के कारणले कांग्रेसलाई सरकारको नेतृत्वमा दिने निर्णय भएको हो । छलफल गर्न बुधबार बिहान अध्यक्षज्यूको समय लिएको छु । अहिले काठमाडौं छु ।’

माओवादीले बुधबार दलको बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने निर्णय गरेको छ । सोही अनुसार चुमान आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न काठमाडौं गएका हुन् ।

प्रदेश प्रमुख गुरुङले एमाले नेतृत्वको सरकार गठन गर्न प्रयोग भएको धारा दोहोर्‍याएर सरकार गठन आह्वान गरेको भन्दै एमाले सांसदहरु भने असन्तुष्ट भएका छन् । ‘एमाले नेतृत्व सरकारले सत्ता सञ्चालन गर्दै गर्दा राजीनामा दिएको भए पुन उपधारा दोहोर्‍याउनु सान्दर्भिक र न्यायोचित हुन्थ्यो ।

तर, सत्ताको स्वार्थ पूरा गर्न उपधारा दोहोर्‍याएर संविधानको घाँटी रेट्ने काम भएको छ । प्रदेश प्रमुखले पुन सच्च्याएर उपधारा ३ अनुसार सरकार गठन आहन गर्नुपर्छ,’ एमालेका एक सांसदले भने । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७, एमालेका २२, राप्रपाका २ सांसद र एक स्वतन्त्र सांसद छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया