विश्वासको मत माग्दैमा संविधानवादको खिलाफ हुँदैन

सञ्जय रानाभाट २०८० वैशाख २१ गते २०:४१

पोखरा ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेश सभामा विश्वासको मत माग्ने कार्यसूची थियो । विश्वासको मत माग्न मुख्यमन्त्री पाण्डेले सबै दललाई पत्र काटेर आफूलाई विश्वासको मत आह्वान गरेका थिए ।


मुख्यमन्त्री पाण्डेले बिहीबार प्रदेश सभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै आफूलाई मत दिन सबै सांसदसँग अनुरोध गरे । तर, मुख्यमन्त्री पाण्डेले एमाले र राप्रपाको मत पाएनन् । बरु उल्दै एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफूहरुसँग विश्वासको मत माग्नु संविधानवादको खिलाप भएको बताए ।

Advertisement


‘प्रतिपक्षमा हामी छौं । सत्तापक्षको प्रमुख घटकले के भन्यो भने—संसदीय दलको भाष्य नै परिवर्तन गर्ने त अब हामी,’ अधिकारीले भनेका थिए, ‘यो संसदीय राजनीति र व्यवस्था नै नामेय भएर निर्दलीय हुन्छ । सबैले भोट हालौं भने संविधानको रक्षाका लागि विपक्षमा मत नहाली हुँदैन ।’


जवाफमा मुख्यमन्त्री पाण्डेले यस्ता साना—साना घटनाले लोकतन्त्र सकिन लाग्यो भन्नु सान्दर्भिक नभएको बताए । उनले भने, ‘लोकतन्त्रमाथि नै प्रहार हुन थाल्यो संविधानवाद नै उल्टिन थाल्यो भनेर नसोचौं । अस्थिरता भयो, छोटो समयमा सरकार परिवर्तन हुनु निश्चिय पनि राम्रो होइन ।’

Advertisement


उनले अहिलेको निर्वाचन प्रणालीले नै कोलिसन (गठबन्धन) सरकार खोजेको बताए । ‘निर्वाचनमा कुनै पनि एउटा पार्टीको बहुमत आएन । कोलिसन सरकार बन्यो,’ उनले भने । अहिले गठबन्धन गरेर सरकार बनाउँदा आफ्नो नेतृत्वमा सरकार बन्न पुगेको उनको भनाइ थियो । आफ्ना पूर्ववर्तीबाट मुख्यमन्त्री पाण्डेले म्याच फिक्सिङ गरेको आरोप खेपे । उत्तरमा पाण्डेले म्याच फिक्सिङ भयो कि कोर्स करेक्सन भयो ? भनेर उल्टै प्रतिप्रश्न गरे । उनले भने, ‘म्याच फिक्सिङ त यसबेला भयो, जुन बेला चुनावमा भएको गठबन्धन भन्दा बाहिर गएर सरकार बन्यो । अहिले त कोर्स करेक्सन भएको हो ।’


गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने बताए । उनले आफू दलीय स्वार्थभन्दा माथि रहेर काम गर्ने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि मत मागेका थिए । उनले समृद्ध प्रदेश बनाउन सबै मिलेर जानुको विकल्प नभएको भनाइ राखे ।


‘मेरो नेतृत्वमा गठन भएको सरकारले जनअपेक्षा अनुसारको काम गर्नेतर्फ सम्पूर्ण प्रयास केन्द्रित गर्नेछ । सेवा प्रवाह प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्छु । सेवालाई प्रविधिमैत्री बनाउन र सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई छिटो छरितो र सहज बनाउँछु ।’ आफूले खानेपानीमा ग्रामीण क्षेत्रका जनताको उपभोगलाई पहुँचयोग्य बनाउने र लिफ्टिङ प्रणालीबाट खानेपानी उपलब्ध गराउँदा विद्युत महसुल निशुल्क प्रदान गर्ने उनले बताए ।


उनले कृषियोग्य जमिनमा बा¥है महिना सिञ्चाइ पु¥याउने कार्यलाई अगाडि बढाउने बताए । कृषि उत्पादनमा लाग्ने लागत कम गरी उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले लिफ्टिङ सिँचाइ प्रणालीमा लाग्ने विद्युत महसुल निशुल्क गर्ने निर्णय सरकारले गरेको उनले सुनाए । ‘कृषि भूमिको खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाइ व्यस्त विमानस्थलका बनाउन पहल गर्ने बताए । यसका लागि गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सृजना गर्नेछ । गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार थप गर्दै उनको भनाइ छ । ‘प्रदेशभित्र बसोवास गर्ने विभिन्न जातजातिहरुको मौलिक भाषा, संस्कृति र परम्परालाई दिगो संरक्षण र प्रवद्र्धन गर्ने कार्यलाई जोड दिइनेछ । प्रदेश गौरवको आयोजनाहरुको कार्यान्वयनमा गरिनेछ,’ पाण्डेले भने, ‘कोरला नाका खुला गर्न विशेष पहल गर्छु । सहरी क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न आवश्यक पूर्वाधारहरु निर्माणमा हामी केन्द्रित हुनेछौं ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया