इमर्जेन्सीका लागि मात्रै औषधी स्टक

समाधान संवाददाता २०८० जेठ ११ गते ११:४९

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको उनले बताएका छन् । ‘औषधी थन्काएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ,’ उनले भने ।

पोखरामा मंगलबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि बुधबार बिहान आफैँ स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्क्याएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरेका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकल अनुसार १० प्रतिशत औषधी इमर्जेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै स्टोरमा औषधी रहेको जानकारी गराए । उनले सबै प्रकारका औषधी अझै १० प्रतिशत अपुग रहेको भन्दै भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पुर्‍याउन नसकेको बताए । इमर्जेन्सीका लागि बाहेक औषधी स्टक नरहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराए ।

Advertisement

मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भएपनि स्वास्थ्य उपकरणहरुभने सक्दो धेरै प्रयोगका लागि पठाउन सुझाव दिए । उनले ११ जिल्लाका कम्तीमा एक÷एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए । ‘हामी र स्थानीय तह बिच कम्युनिकेसन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरुलाई प्रदेशमा औषधी छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ,’ उनले सचिवलाई निर्देशन दिँदै भने, ‘यो बारेमा तत्काल स्थानीय तहका प्रमुखहरुलाई पनि जानकारी गराउनुहोला ।’

मुख्यमन्त्री पाण्डेले आफूलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउँदै अहिलेको स्थित भन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए । ‘हामीसँग साधन, स्रोत सिमित छ, आवश्यकता र आपूर्तिलाई कसरी व्यवस्थित गर्ने भन्ने योजनामा हामी छौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।

Advertisement

के सामग्री खरिद गरेर कसरी राखेको छ, वितरण प्रक्रिया के छ भन्ने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा लगायत निरीक्षणमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया