
लेखनाथ ।
कास्कीको लेखनाथस्थित बेगनास ताल पारी रहेको प्राचीन बराह क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन तथा उद्योग कार्यालयले बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत बेगनासताल बराह एवं लक्ष्मी नारायण मन्दिर निर्माण सुरु गरिएको हो ।
योजनाका लागि ५५ लाख ७६ हजार ९सय १७ लागत लाग्ने प्रदेश अन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ भने बाँकी रकम जनश्रमदानबाट जुटाइने पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिए ।
बेगनासताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको हो । ‘बराह क्षेत्रमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेकाले यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व छ’, अध्यक्ष अधिकारीले भने ।
बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकले यस क्षेत्रको सम्भाव्यतासम्बन्धी अध्ययन गरेका थिए । बेगनासतालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मन्दिरलगायत संरचना निर्माण गर्न लागिएको हो ।
प्राचीन कालदेखि पूजाआजा गरिँदै आएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका दिन पारेर ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीय सबैलाई राम्रो होस् भन्ने कामनासहित पूजाआजा गर्दै आएका छन् ।
मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथि एवं पर्वमा दर्शनार्थी आउने गरेका जानकारी दिँदै अध्यक्ष अधिकारीले तीर्थस्थल र आसपासको क्षेत्रको विकासका लागि विसं २०७५ मङ्सिर २२ देखि २९ गतेसम्म महायज्ञ समेत गरिएको जानकारी दिए ।
मन्दिर निर्माणका सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री दीपेन्द्रबहादुर थापाले बेगनासातालको गरिमा र महत्वलाई अझै बढाउन मन्दिर निर्माण गर्न लागिएको सुनाए । बेगनासतालसहित यस क्षेत्रको पर्यटकीय विकासका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिका ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा वडाले सहयोग गर्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्तव्यको संरक्षण एवम् प्रवद्र्धनमा सबैको सहयोग जरुरी भएको जनाए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सिसुवाका प्रमुख कमल भण्डारी, अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, उद्योग तथा पर्यटन कार्यलय कास्कीका प्रमुख शेषकान्त पौडेल लगायतले बोलेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया