मिलेनियम ट्रेक प्रवद्र्धन टोली सार्दीखोलामा

समाधान संवाददाता २०८० जेठ २८ गते १२:५०

पोखरा ।
सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को पुनः प्रवद्र्धन एवं बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली शनिबार पदमार्ग क्षेत्रको सार्दीखोला पुगेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहआयोजना एवं प्रवद्र्धनमा ७ दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट यात्रा सुरु गरेको थियो ।

Advertisement


शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवं सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।


शनिबार बिहान रजस्थलबाट दोस्रो दिनको यात्रा थालेको टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १२ मा निर्माणाधीन तमु हिल पार्क अवलोकनसँगै सरोकारवालासँग छलफल गरेको छ । सो अवसरमा तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङ, गजबहादुर गुरुङ लगायतले स्थानीय समस्याबारे प्रकाश पारे ।

Advertisement


टोलीले ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको छ । सोही वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि छलफल गरेको छ । टोलीले शनिबार पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवं पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ ।


कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम टे«कको पुनः जागरण एवं प्रवद्र्धनको लक्ष्यका साथ आफूहरू आईपुगेको सुनाए । सहप्राडा रामजी पोखरेलले होमस्टे सञ्चालनले रोजगारीसमेत सिर्जना गर्ने बताउँदै मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने वातावरण सिर्जना गर्नु जरुरी रहेकोमा जोड दिए ।

Advertisement


टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवद्र्धनमा टानले सहयोग गर्ने जनाए । मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।


पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा रहने चरा, यहाँको जैविक विविधताबारे अध्ययन भइरहेको बताउँदै ती विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया