‘आवाज : महिला सशक्तिकरण र बाँच्नका लागि सर्घष’नामक वृतचित्रमा मुस्ताङकी सुकुन

समाधान संवाददाता २०८० जेठ ३१ गते १६:५८

जोमसोम—महिला सशक्तिकरण तथा बाँच्नका लागि संघर्षको कथा समेट्दै ५ वटा भाषामा अनुवादित वृतचित्र बन्ने भएको छ । नेपालका स्थापित फिल्मकर्मी प्रमोद लामिछानेको निर्माणमा सोल अफ नेपाल फिल्म प्राईभेट कम्पनी लिमिटेडले ‘आवाज ःमहिला सशक्तिकरण र बाँच्नका लागि संघष’ अर्थात ( द अनसाईलेन्स्ड् : वुमेन्स् ईम्पावरमेन्ट एण्ड द ब्याटल फर सर्भाईवल) नामक वृतचित्र निर्माण गर्न लागेको हो ।


नेपालका विभिन्न जिल्लामा रहेका ४ जना महिलाहरुको प्रत्यक्ष जिवन भोगाई र संघर्षमयी जिवन कथालाई मुख्य विषय वस्तु बनाएर वेन् फिल्म्को ब्यानरमा द अनसाईलेन्स्ड् ः वुमेन्स् ईम्पावरमेन्ट एण्ड द ब्याटल फर सर्भाईवल) नामक वृतचित्र निर्माणको छायाँकन भईरहेको छ । यसका लागि हलिउडकर्मी मिलेना श्वागर र अनामिका अर्यालको सहलगानी रहने छ भने वृतचित्रको निर्देशन निर्माता प्रमोद लामिछाने र टोसिट घतानेले गर्दैछन् ।


राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रर्दशन गर्ने उद्देश्यसहित शून्य क्षमताबाट माथि उठेर आफुलाई जिवन संर्घष गर्दै घरपरिवार,व्यवसाय र समाजमा स्थापित गराउँन सफल ४ जना महिलाहरुको जिवन्त भोगाईका कथालाई ५ वटा भाषामा वृतचित्र निर्माण गर्न लागिएको निर्माता प्रमोद लामिछानेले जानकारी दिए । वृतचित्र नेपाली,अंग्रेजी,जापानीज,कोरियन,थाई र स्पेनीस भाषामा निर्माणको काम अघि बढाईएको निर्माता लामिछानेले बताए । उनका अनुसार फरक फरक विधाका फरक फरक क्षेत्रमा महिला सशक्तिकरण तथा बाँच्नका लागि संघर्ष गरिरहेका महिलाहरुको जिवन्त कथा वस्तु वृतचित्रमा समेटिने बताईएको छ । वृतचित्रको लागत अनुमान १ करोडको हाराहारीमा रहने उनले उल्लेख गरे ।

Advertisement


वृतचित्रमा महिलाहरुले के गर्न सक्छन्,महिलाहरुलाई अनेंक दुःख र चुनौतीहरु छन्, घरपरिवार पाल्नेदेखि समाज र राष्ट्रका लागि उनीहरुको योगदानका विषयमा वृतचित्रले विश्वभरका महिलाहरुलाई उर्जाशील सन्देश प्रवाह गर्ने निर्माता लामिछानेले दावी गरे ।चलचित्र क्षेत्र,वैदेशिक रोजगार, श्रम संघर्ष र विभिन्न महिला आरोह अवरोधका कथालाई वृतचित्रमा समेट्ने प्रयास गरिएको छ । हिजोको पुरातनवादी युगदेखि अहिले बर्तमान युगमा महिलाहरुले भोगेका समस्या,सास्ती र अहिले महिलाहरुले पाएको सफलता,शिक्षा ,प्रगती र समाजमा रुपान्तरित महिलाहरुको कथालाई कलिउड देखि हलिउड र बलिउडसम्म उतार्ने योजना रहेको निर्माता लामिछाने उल्लेख गरे । वृतचित्रमा काठमान्डौं उपत्यका बाहिरका महिलाहरुको कथालाई समेट्ने जनाईएको छ ।

आवाज : महिला सशक्तिकरण र बाँच्नका लागि संघष’ अर्थात ( द अनसाईलेन्स्ड् ः वुमेन्स् ईम्पावरमेन्ट एण्ड द ब्याटल फर सर्भाईवल) नामक वृतचित्र निर्माणको टोलीले हिमाली जिल्लाको एक सफल वरिष्ठ महिला उद्यमीको कथालाई पनि वृतचित्रमा समावेश गर्ने भएको छ । यसका लागि निर्माता लामिछानेसहितको वृतचित्र टोलीले जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म ५ दिन बसेर छायांकन सक्काएको हो ।वृतचित्रमा सुकुनको उद्योग ,गाउँपालिका कार्यालय,जनप्रतिनिधिसंग अन्तरक्रिया र सुकुनसंगको प्रत्यक्ष सम्वादको छायांकन गरिसकेको बताईएको छ ।

Advertisement

महिला सशक्तिकरण तथा बाँच्नका लागि संर्घषरत मुस्ताङकी स्थापित महिला सुकुन रसाईलीको मुस्ताङको घरपझोङ—२ मार्फामा मार्फा फलफुल तथा तरकारी प्रशोधन केन्द्र उद्योग छ । उनी उद्योगमा मात्र होईन ,विभिन्न महिला सशक्तिकरणका लागि आवद्ध संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर कार्यसम्पादन गर्देआईरहेकी छिन् ।

आर्थिक अवस्थाका कारण विदेशिएका श्रीमानलाई स्वदेश फर्काएर उद्योग व्यवसाय संञ्चालन गर्देआईरहेकी सुकुन जिवन हिमाली उपआयोजनाको अनुदानले फेरिएको हो । अदम्य साहस ,ईच्छ्या शक्ति ,स्पष्ट वत्ता र महिलाहरुको उत्थानमा समर्पित महिला उद्यमी सुकुनको वाल्यकाल,विद्यार्थी काल ।वैवाहिक सम्वन्धपछिको जिवन भोगाई र होटल र व्यवसायमा भोग्दै आएका दुःखकष्ठ ,चुनौती र अवसरलाई वृतचित्रमा समेट्ने प्रयास गरिएको छ ।

होटल र उद्योगका माध्यमबाट स्थानीय उत्पादनको बजार,प्रर्वद्धन,बजारिकण र पर्यटन प्रर्वद्धनमा योगदान दिदैआईरहेकी महिला उद्यमी सुकुन रसाईली दर्जनौ राष्ट्रिय र स्थानीय पुरस्कारहरुबाट सम्मानीत भईसकेकी छिन् । शोषित,उत्पीडित,दमन र अत्याचारमा परेका महिलाहरुको सदैव आवाज बुलन्द गर्दैआईरहेकी सकुन मुस्ताङी एक अब्वल महिला उद्यमी हुन् ।


झन्डै डेढ घण्टाको बन्ने वृतचित्रमा सुकुनको कथालाई करिव २५ मिनेटको समय निर्धारण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया