नेपालले तिर्न बाँकी सार्वजनिक ऋण पौने २२ खर्ब

समाधान संवाददाता २०८० असार ७ गते ११:१२

काठमाडौं ।
नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।

Advertisement

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कूल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार ५ सय १६ बराबर पर्न जान्छ ।

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा, ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ ।


चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र १ खर्ब ५९ अर्ब ९५ करोड ८ लाख बराबर ऋण थपिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसद्मासमेत उठिरहेको छ ।

Advertisement

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ३ खर्ब ६ करोड ऋण उठाएको छ भने २ खर्ब ५ अर्ब १७ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब ८ करोड ६० लाखले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख छ ।

यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ । यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा १ खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख बराबर खर्च भएको छ ।

बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा ८ अर्ब ६८ करोड ५४ लाख बराबर खर्च भएको छ ।

तपाईको प्रतिक्रिया