लोघेकरको बजेट सवा २४ करोड

सुन्दरकुमार थकाली २०८० असार १२ गते १२:५४

जोमसोम ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकृण्ड गाउँपालिकाले २४ करोड १९ लाखको बजेट सार्वजनिक गरेको छ । १६ औं गाउँसभामा चालुतर्फ ११ करोड २६ लाख र पुँजीगत विकास खर्चतर्फ १२ करोड ९३ लाख रहेको बजेट सार्वजनिक भएको हो ।

Advertisement


पालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले पालिकाले विनियोजन गरेको बजेटबाट ९५ प्रतिशत खर्च हुने दाबी गरे । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको कुल बजेटमध्ये संघीय अनुदान २० करोड ४८ लाख छ भने प्रदेश अनुदान ३८ लाख ९३ हजार छ । गाउँपालिकाको आन्तरिक आम्दानी १९ लाख ९१ हजार अनुमान गरिएको छ भने पालिकाको सञ्चित मौज्याद १ करोड ६१ लाख बजेटमा समावेश गरिएको छ ।


संघीयतर्फ वित्तीय समानिकरण अनुदान ६ करोड ९७ लाख, सर्शत अनुदान ६ करोड १६ लाख, विशेष अनुदान २ करोड १० लाख, संघीय समपुरक अनुदान ८० लाख र राजस्व बाँडफाँड ४ करोड २९ लाख १६ हजार गरी २० करोड ४८ लाख बजेट विनियोजन भएको हो ।


प्रदेश सरकारतर्फ वित्तीय समानीकरण ३७ लाख ६८ हजार, सर्शत अनुदान ५० लाख, समपुरक अनुदान ५० लाख र राजस्व बाँडफाँडतर्फ २५ लाख परेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बजेटमा चालु खर्चतर्फ भन्दा पुँजीगत खर्चतर्फ केही बढी बजेट विनियोजन भएको देखिन्छ ।


यद्यपि बजेटमा सुशासन, सेवा प्रवाह, सञ्चार र संस्थागत शीर्षक रहे पनि बजेट अंकमा खुलाइएको छैन । सो शीर्षकमा कर्मचारीलाई क्षमता विकास तथा अन्तर प्रदेश भ्रमण गराइने जनाइए पनि मुस्ताङको पत्रकारिता विकासमा बजेटमा कहीँ कतै उल्लेख छैन । पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र संस्कृति संरक्षणमा जोड दिएको छ ।

Advertisement


लोघेकरले शिक्षातर्फ २ करोड ३६ लाख, स्वास्थ्यमा २ करोड र पूर्वाधार निर्माणमा २ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । पर्यटन विकासमा १० लाख, कृषि तथा पशुपंक्षी विकासमा ९० लाख, उद्योग विकासमा १३ लाख, सामाजिक सुरक्षा तथा संरक्षणमा ४७ लाख ७९ हजार, खानेपानी तथा सरसफाइ अन्तर्गत घमीदेखि ढाक्मर एक घर एक खानेपानी सिंचाई आयोजनाको प्रभावकारी कार्यान्वयन र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ५६ लाख बजेट छुट्याइएको उपाध्यक्ष गुरुङले बताइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया