१८ औं रोपाइँ महोत्सव
रोपाइँ महोत्सवः पर्यटनमा नौलो आयाम
बर्खा याममा पनि पर्यटकलाई पोखरा डाक्ने बहाना रोपाइँ महोत्सव बनेको छ

पोखरा ।
जमाना त्यो थियो, जति बेला पोखरामा कसैले नबोलाइकनै पर्यटक आएका थिए । सन् १९६० को दशकमा आएका ती पर्यटकलाई न बासको सुर्ता हुन्थ्यो, न आफ्नो देशको खानपानको । बस उनीहरु फिरन्ते बनेर घुम्न आएका थिए । गाउँ ठाउँका धन्सार, पिँढीमै पनि बास बसिदिन्थे । त्यो पनि नभए टौवामुनि बस्न पाए पनि पुग्थ्यो । उनीहरुको एउटै ध्याउन्न भनेको गाँजा खानु हुन्थ्यो । ती हिप्पीहरु थिए । जसै काठमाडौंमा हिप्पीहरुबाट पर्यटनको सुरुआत भएको थियो, पोखराको पर्यटनका पहिलो छिमलका पाहुना हिप्पीहरु नै हुन् ।
२०३३ तिर नेपालमा गाँजा प्रतिबन्धित भयो । त्यसपछि हिप्पीहरु आउन छोडे । तर पर्यटक आउन थाले । नेपालका पहाड, पहरा, झरना र गाउँ, बस्ती अनि यहाँको संस्कृति र हिमाली सौन्दर्यले उनीहरुलाई तान्यो । पदयात्री र हिमाल आरोहणका लागि पर्यटक भित्रिइरहे । जसै समयको चक्र घुम्यो, पर्यटनमा पनि नयाँ नयाँ आयाम आए । पोखरामै फेवातालमा हर्पन खोलाको पानी धेरै भरियो, र बगेर गयो । सेतीमा चुनसँगै धेरै पानी बग्यो, समयको रङ पनि बदलियो । पर्यटनका आयाम पनि बदलियो । कुनै बेला आफैं आएका पर्यटककै कारण पर्यटन पनि केही केहीको व्यवसाय हुन थाल्यो ।
यसपालिको महोत्सवमा गायक प्रकाश सपूतको प्रस्तुति पनि रहनेछ
पर्यटक बढ्न थालेसँगै तिनका रुचि अनुसारका होटल, रेस्टुरेन्ट खुले । तिनैले चाहने खानपानको व्यवस्था पनि हुन थाल्यो ।
त्यतिले मात्रै पुग्दैन भनेर विभिन्न गतिविधि हुन थाले । साहसिक गतिविधिहरु सुरु भए । हिउँद याममा पर्यटकले पोखराको पर्यटकीय केन्द्र लेकसाइड छपक्कै हुन थाल्यो । अंग्रेजी नयाँ वर्षमा त महोत्सव पनि सुरु भयो—तिनै पर्यटकलाई लक्ष्य गरेर ।
बर्खायाम पानीले निथ्रुक्क तर पर्यटन भने सुख्खा । अनि पर्यटन व्यवसायीले बर्खामा पनि पर्यटक डाक्ने उपाय सोच्न थाले । अब पर्यटक आफैंमात्रै आउँदैनन्, केही आकर्षण दिएर बोलाउनुपर्छ भन्ने सोच आयो । त्यसपछि पोखरा पर्यटन परिषदको अगुवाइमा रोपाइँ महोत्सव १७ वर्षअघिको असार १५ गते सुरु भयो । जसको १८ औं संस्करण पोखरा १३ कसेरीमा शुक्रबार आयोजना हुँदै छ ।
‘पोखरामा अफ सिजन हुँदैन, पर्यटकका लागि सधैं सिजन हुन्छ भन्ने सन्देश दिन रोपाइँ महोत्सव सुरु गरेका थियौं,’ महोत्सव सुरुआत गर्दाका पोखरा पर्यटन परिषदका तत्कालीन अध्यक्ष डम्बर केसी भन्छन्, ‘रोपाइँ महोत्सवले हाम्रो पर्यटन र कृषिलाई जोडेको छ ।’
परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई धान नरोप्ने युरोपेलीका लागि पोखराको रोपाइँ महोत्सव आकर्षक भएको बताउँछन् । उनी नेपालकै नयाँ पुस्तासम्मलाई रोपाइँ महोत्सवको महत्व रहेका विचार राख्छन् । उनले भने, ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ, धान उत्पादन गर्नुपर्छ भन्ने सन्देश पनि महोत्सवले दिएको छ ।’
महोत्सवमा हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने र दही चिउरा खाने कार्यक्रम समावेश हुन्छन् । त्यसैमा पर्यटक रमाउँछन्
परिषदका अर्का पूर्वअध्यक्ष सोम थापा पर्यटनलाई गतिविधि चाहिने बताउँछन् । अंग्रेजी र नेपाली नयाँ वर्षमा महोत्सव गरिरहँदा पर्यटकीय गतिविधि बढेझै रोपाइँ महोत्सवले पनि नौलो आयाम थपेको उनको विचार छ । पूर्वअध्यक्ष केसी रोपाइँ महोत्सवले पोखरेली पर्यटनमा नयाँ आयामसँगै पहिचान थपेको सुनाउँछन् । भन्छन्, ‘रोपाइँ महोत्सवकै लागि भनेर बर्सेनि ठूलो संख्यामा पर्यटक पोखरा आउँछन् ।’
परिषदका वर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ वर्षैपिच्छे ठाउँ फेरी फेरी महोत्सव गर्दा सबैतिरका किसालाई पनि हौसला मिलेर र प्रचार पनि बढेको बताउँछन् । पहिलो पटक रोपाइँ महोत्सव बिरौटा फाँटमा गरिएको थियो । तर अचेल बिरौटा लगायत फाँटमा घरहरु थपिएका छन् । तर महोत्सवले पोखराको कृषि प्रणालीलाई महोत्व दिँदै जेठोबुढो धानकै चिउरा र स्थानीय दही पर्यटकलाई चखाउने श्रेष्ठ सुनाउँछन् ।
१८ औं रोपाइँ महोत्सवका संयोजक तथा परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले रोपाइँ महोत्सवले किसानलाई खेतीकिसानी गर्न प्रेरणा दिने गरेको र कृषि पनि गर्व गर्न लायक पेसा हो भन्ने मान्यता वृद्धि गरेको बताउँछन् । उनका अनुसार महोत्सवमा हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने, दही चिउरा खाने, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने लगायत कार्यक्रम हुने छन् । यसपालिको महोत्सवमा गायक प्रकाश सपूतको प्रस्तुति पनि रहनेछ ।
पछिल्लो समय असार १५ लाई नेपाल सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ । यसै दिनमा रोपाइँ महोत्सव हुने गरेको छ । त्यसो त असार १५ मा हिलो छुनैपर्ने सामाजिक मान्यता पनि नेपाली समाजमा थियो । नयाँ पुस्तालाई यस्ता जानकारी दिन पनि महोत्सव उपयुक्त थलो भएको परिषदका पूर्वअध्यक्ष सूर्य भुजेल बताउँछन् ।
१८ औं संस्करणको महोत्सवको स्थानीय आयोजक पोखरा महानगरपालिका वडा नम्बर १३ र २८ पनि हुन् । यसअघि एक वर्ष कोरोना महामारीका कारण रोपाइँ महोत्सव रोकिएको थियो । तर यसलाई सधैं निरन्तरता दिने पक्षमा परिषद रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । महोत्सव अन्तर्गत यस वर्ष साउने प्रतियोगिता (हल गोरुको दौड), आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने, हिलो दौड (नेपाली र विदेशी महिला तथा पुरुष, पत्रकार), रस्साकस्सी लगायत कार्यक्रम हुँदै छन् ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया