राष्ट्र सेवक सहकारी रजत वर्षमा

पोखरा ।
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ८ कास्कीले २०८० भरी रजत वर्ष मनाउने भएको छ । नेपाल निजामती कर्मचारी संगठनको अग्रसरतामा २०५६ असार २३ गते स्थापना भएको सहकारीको औपचारिक रुपमा घोषणा गरेर शनिबारदेखि रजत वर्ष सुरुवात भएको अध्यक्ष राममणि ढुंगानाले जानकारी दिए ।
उनले २०८१ असार २३ गते चियापान कार्यक्रम गरी रजत वर्षको समापन गर्ने बताए । सहकारीको २५ औं स्थापना दिवसको सन्दर्भमा कारोबारको लेखाकंन र प्रतिवेदनका लागि प्रयोगमा ल्याएको कोपास ६ सफ्टवेर प्रणालीको स्तरोन्नति गर्नका लागि प्रदर्शनीसमेत गरिएको छ । अध्यक्ष ढुंगानाले विगत १० वर्षदेखि प्रयोग गर्दै आएको सफ्टवेयर प्रणाली (कोपास ८)लाई स्तरोन्नत्ति गरी साउन १ गतेदेखि सुरुवात गर्ने जनाए ।
सहकारीका सेयर सदस्य विमल गौतमले सो सफ्टवेयरको विकास गरेका हुन् । उनले सफ्टवेयरको विकाससँगै सबै सेयर सदस्यले सबै कारोबार हत्केलाबाट गर्न सक्ने जानकारी दिए ।
कार्यक्रममा सहकारीको रजत वर्ष २०८०को मस्कट सार्वजनिक गरिएको छ । रजत वर्षको अवसरमा संस्थाले सहकारी सूचना तथा अध्ययन केन्द्र स्थापना गर्ने कार्ययोजना ल्याएको छ । अध्यक्ष ढुंगानाले रजत वर्ष पुस्तिका प्रकाशन, अग्रज सहकारीकर्मी सम्मान तथा कास्कीका सबै पालिका तथा कार्यालय पुगेर सदस्यता वृद्धि गर्ने योजनअघि सारेको जानकारी दिए । सहकारीले मोबाइल बंैकिङ लगायतका प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष तेजनारायण अधिकारीले रजत वर्षको उद्घाटन गर्दै सहकारीलाई व्यवस्थित परिचालन गर्न संस्थाका सञ्चालक र सेयर सदस्य लगायत सबै जिम्मेवार बन्न आवश्यक रहेको बताए । गण्डकी प्रदेश सरकारका सचिव विनोदबहादुर कुँवरले संगठनले चलाएको सहकारी मर्यादित र व्यवस्थित भएको दाबी गरे । उनले कास्कीको सहकारी अग्रणी भएको उल्लेख गरे ।
‘सहकारी क्षेत्रमा आएको संकटलाई सामना गर्न सबै चनाखोे बन्नु पर्छ,’ उनले भने, ‘विगतमा केही कमी, कमजोरी भए अहिले सुधार गर्नुपर्छ । मितव्ययिता अपनाउनु पर्छ ।’ स्थापनाको २५ वर्षसम्म पनि बचत र लगानीको पहिलो चरणमा रहेको उल्लेख गर्दै उनले रजत वर्षमा दोस्रो चरणको उत्पादनमूलक काममा केन्द्रित हुन सुझाव दिए । सूचना र प्रविधिको प्रयोगमा गुणात्मक फड्को मारेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोग बढेसँगै अवसर पनि बढेको चर्चा गरे ।
कार्यक्रममा एमाले कास्की सचिवालय सदस्य ऋषिराम लामिछाने, पेशागत महासंघ नेपाल गण्डकी प्रदेश महासचिव बैकुण्ठनाथ आचार्य, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य भरतप्रसाद भुषाल, संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष अशोक खनाल, संगठन कास्की अध्यक्ष विष्णुदेवी पोखरेल, सहकारीका उपाध्यक्ष मधु बराल, सचिव माधव पौडेल, कोषाध्यक्ष गणेशबहादुर कार्की र लेखा सुपरीवेक्षण समितिका संयोजक द्रोणराज अधिकारीले सहकारीका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया