
जोमसोम ।
गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका मुस्ताङका ११ वटा कार्यालयहरुले ४५ करोड ८४ लाख बजेट खर्च गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित कुल ६० करोड ७६ लाख बजेटमा ७५ दशमलव ४३ प्रतिशत बजेट पुँजीगत बजेट खर्च गरेका हुन् ।
गण्डकी प्रदेश अन्तर्गतका कार्यालयहरुका लागि चालु खर्चतर्फ ३८ करोड ६९ लाख बजेट विनियोजन भएकोमा २९ करोड १७ लाख अर्थात ७५ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको हो । मुस्ताङमा प्रदेश कार्यालयहरुको कुल चालु र पुँजीगत खर्च प्रतिशत करिव समान रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।
मुस्ताङमा गत वर्षको तुलनामा चालु वर्ष पुँजीगत बजेट खर्च बढेको छ । बजेट खर्चको प्रतिशत भने घटेको छ । मुस्ताङमा गत वर्षभन्दा चालु वर्ष यहाँका प्रदेश कार्यालयहरुलाई १६ करोड पुँजीगत बजेट बढेर आएकोमा चालु वर्ष गत वर्षको भन्दा ८ करोड बढी पुँजिगत खर्च वृद्धि भएको हो ।
गत वर्ष ४४ करोड ७ लाख पुँजिगत बजेट विनियोजन भएकोमा ३७ लाख ९८ करोड अर्थात ८६ दशमलव १८ प्रतिशत खर्च भएको थियो । गत वर्ष प्रदेश कार्यालयको चालु बजेट ३८ करोड ५६ लाखमा २७ करोड ८५ लाख अर्थात ७२ प्रतिशत बजेट खर्च भएको थियो । चालुतर्फ २ करोड अर्थात ३ प्रतिशत बजेट बढी खर्च भएको छ ।
गण्डकी प्रदेश अन्तरगगत बढी बजेट विनियोजन हुँने पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०७९÷०८० को असारसम्ममा ६८ दशमलव ८७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । पूर्वाधार विकासले कुल पुँजीगत बजेट २६ करोड ३४ लाखमा १८ करोड १४ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालयले ८७ दशमलव ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । कार्यालयको कुल पुँजीगत बजेट २२ करोड ९७ लाख रहेकामा २० करोड १९ लाख पुँजीगत बजेट खर्च गरेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया