नाडा अटो सोलाई बुकिङ खुला

पोखरा ।
नाडा अटो सो २०२३ आयोजना हुने भएको छ । अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको नाडाले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
नाडाले सो प्रदर्शनीका लागि बुकिङसमेत खुला गरेको छ । नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी साधनहरुको आयातमाथि लगाएको प्रतिबन्धका कारण आयोजना गर्न सकेको थिएन । यस्तो विपरीतस्थितिमा नाडाले आफनो इतिहासमा पहिलोपटक गत वर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभी एक्सपो २०२२ सम्पन गरेको थियो ।
आउँदो नाडा अटो सो २०२३ मा विद्युतीय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने छन् । त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै ४ वर्षपछि हुन लागेको बृहत प्रदर्शनीमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षासमेत राखिएको छ ।
कोभिडको दीर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत वर्षहरुमा सम्पन्न प्रदर्शनीहरुभन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको छ ।
यस प्रदर्शनीमा नेपालभरका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षासमेत गरिएको छ ।
तपाईको प्रतिक्रिया