सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड

काठमाडौं ।
वार्षिक १० लाख विदेशी पर्यटक भिœयाउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सवा अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको स)ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरूपमा चलायमान बनाउनका लागि बोर्डले १ अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब १ अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको र उक्त बजेटमध्ये झण्डै ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनमा खर्च योजना सुनाए । बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।
‘कुल बजेटको ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने योजना छ । मुख्य रूपमा भारत, चीन तथा सिंगापुर, मलेसिया लगायत दक्षिणपूर्वी एसियाली मुलुकलाई प्राथमिकतामा राखेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । पुराना गन्तव्यका रूपमा बेलायत र अमेरिकालाई पनि प्राथमिकता दिइनेछ’, निर्देशक लामिछानेले भने ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निकट भविष्यमै अस्ट्रेलियामा पनि सिधा उडान गर्ने योजना बनाएकाले बोर्डले अस्ट्रेलिया गन्तव्य प्रवद्र्धनको योजना बनाएको निर्देशक लामिछानेको भनाइ छ । उनले पछिल्लो समय अष्ट्रेलियाबाट पनि पर्यटक आगमन वृद्धि भइरहेकाले बजारीकरणलाई प्राथमिकता दिएको सुनाए ।
बोर्डको तथ्यांक अनुसार सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९ सय १ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो । अघिल्ला महिनामा पनि भारत, अमेरिका, चीन, बंगलादेश, अस्ट्रेलिया लगायत मुलुकबाट बढी पर्यटक नेपाल भित्रिएको बोर्डले उल्लेख गरेको छ ।
बोर्डले आगामी आवको बजेटबारे हालै निजी क्षेत्रसँग छलफल गरेको छ । छलफलमा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिले बोर्डको बजेट डिजिटाइजेशनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका थिए ।
होटल संघ नेपाल (हान), प्यासिफक एसोसिएसन अफ ट्रावल एजेन्ट (पाटा) ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नेपाल एसोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल रफिटिङ एजेन्सिज (नारा) नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) एनटीभिए, एनटिबिए, सोट्टो, लयायतका संस्थाबाट प्राप्त सुझावका आधारमा प्राथमिकता निर्धारण गरिएको बोर्डको भनाइ छ ।
तपाईको प्रतिक्रिया