विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

समाधान संवाददाता २०८० साउन ३ गते १४:१२

काठमाडौं ।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो ।

Advertisement


उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत ५ प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ ।’


प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्ने छन् । कार्यविधि अनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन ।


प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया